भर्खरै राष्ट्रिय सभा सदस्य पदमा विजयी भएका डा. खिमलाल देवकोटाले आफूले इतिहास रचेको बताएका छन् । नेपाल र विश्वमा नै ठूला पार्टीहरुले स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्नुलाई आफूले ‘ऐतिहासिक’ रुपमा लिएको भन्दै उनले यस्तो अभूतपूर्व सहयोग पाउने आफू पहिलो व्यक्ति भएको दाबी गरे ।
बागमती प्रदेशमा योजना आयोगको उपाध्यक्ष भएर काम गरेको र संघीयता र स्थानीय तह अधिकारको पक्षमा निरन्तर बहस गरेका कारण पनि आफूले सहज ढंगले मत प्राप्त गर्न सफल भएको उनले बताए । बागमती प्रदेशका मात्र नभई देशभरका संघीयताप्रेमीले माया गरेको भन्दै उनले भने, ‘स्थानीय तह र प्रदेशको अधिकारको विषयमा गरेको कामले मत पाउने विश्वास भएरै उम्मेदवारी दिएको थिएँ, त्यही अनुसार मत पाएको हुँ ।’
राष्ट्रिय सभा विज्ञहरुको हाउस भएको भन्दै देवकोटाले यसमा संघीय सरकारको नभई तल्लो सरकारहरुको पक्षमा बोल्ने अभ्यास भएको बताए । नेपालमा त्यस्तो अभ्यास अहिलेसम्म हुन नसकेको, तर आफूले त्यसको सुरुवात गर्ने बताए । आफ्ना मतदाताप्रति आफू जहिले पनि जवाफदेही हुने भन्दै उनले प्रदेश र स्थानीय तह जनप्रतिनिधिको मतलाई सम्मान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
देवकोटा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई पराजित गर्दै राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
उनले स्थानीय तह, र प्रदेश दुवैमा स्वतन्त्र हैसियतमा निर्वाचन जिते । स्थानीय तहमा जम्मा २३८ मतमध्ये २३३ मत खसेको थियो । जसमध्ये देवकोटाको कलम चिह्नमा १२८ अर्थात् २३०४ मतभार, बादलको सूर्य चिह्नमा १ सय ३ अर्थात १८५४ मतभार र तामाङको मादल चिह्नमा २ अर्थात् ३६ मतभार आएको हो ।
यस्तै, प्रदेश सभा सदस्यको मतदातातर्फ बादललाई ४५ मत अर्थात् २१६० मतभार, खिमलाललाई ५८ मत अर्थात् २७८४ र तामाङलाई २ अर्थात् ८४ मतभार आएको हो ।
आयोगका अनुसार राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा चारजना प्रदेश सांसदले मतदान गरेनन् । बागमतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका थिए । ११० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको छ । स्थानीय तहतर्फ पाँचजनाले मतदानमा भाग लिएनन् । निर्वाचन आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।