नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक आज सिंहदरबारमा बसेको छ। दुई पटकसम्म स्थगित भएर बसेको कार्यदल बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको प्रस्तावमा एमाले सांसदले गरेको हस्ताक्षरबारे कुरा उठेको थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदल सदस्यहरुले आफ्नै पार्टीविरुद्ध गएर कांग्रेस सभापतिको पक्षमा हस्ताक्षर गरेको विषय चर्को रुपमा उठाएका थिए।
ओली पक्षीय कार्यदल सदस्यहरुले यो कुरा उठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यदल सदस्यहरुले अर्कै प्रयोजनका लागि लिइएको हस्ताक्षर विपक्षीको सरकार बनाउने प्रयोजनमा लगाएर दुरुपयोग गरिएको बताएका थिए।
सिंहदरबारमा बसेको बैठक अर्को मिति तय गरेर फेरि बस्ने गरी सकिएको ओली पक्षीय संयोजक सुवास नेम्वाङले जानकारी दिए ।
‘बैठकमा नेता माधवकुमार नेपाल पक्षले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको विषयमा कुरा भएको छ’, उनले भने।
नेपाल पक्ष कार्यदल सदस्यहरुले आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको प्रतिक्रिया दिँदै त्यसबारे संसदीय दल र राष्ट्रपतिको कार्यालयमा पनि जानकारी गराइएको बताएका थिए।
कार्यदलका एक सदस्यले भने, ‘बैठकमा यो विषय जोडदार ढंगले उठ्यो । कार्यदलका साथीहरूबाट आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर यस्तो काम कसरी भयो होला र भनेर प्रश्न उठ्यो’, उनले भने, ‘उहाँहरुले हाम्रो हस्ताक्षर दुरुपयोग भयो भन्नुभएको छ।'
माधव नेपाल पक्षबाट कार्यदल सदस्य रहेका गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले यसअघि नै आफूहरुको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै आपत्ति जनाएका थिए। उनीहरुले संसद बैठक बोलाउन लिइएको हस्ताक्षर सरकार निर्माणमा प्रयोग भएको भन्दै आपत्ति जनाएका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।