कार्यदलमा भीम रावलको जवाफ : संसद विघटन रोक्न देउवालाई प्रधानमन्त्री बनाउनै पर्ने भयो

नेकपा एमालेको विवाद मिलाउन बनाइएको कार्यदलको आज बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता भीम रावलले संसद विघटन रोक्न पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको बताएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले विपक्षी दलका नेतालाई समर्थन गरेको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने भएकाले त्यो पूरा हुन नदिन कांग्रेसको पक्षमा हस्ताक्षर गरेको बताएका हुन्। 

आजको बैठकमा देउवालाई सघाएको विषयमा कार्यदल सदस्यहरु घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले आफूहरुको असहमति रहेको मत राखेका थिए। तर रावलले भने ओलीप्रति आक्रमक भएर देउवालाई सघाउनै पर्ने बाध्यता आएको बताएका थिए।

ओलीतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले माधव पक्षीय कार्यदलका केही सदस्यहरुले देउवालाई सघाउने विषयमा असहमति रहेको धारणा राखेको बताए। 

उनले पाण्डे, भुसाल र विष्टले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले हस्ताक्षर नै नगरेको बताएको जानकारी दिए। रावल माधव नेपाल पक्षका कार्यदल संयोजक हुन्। उनी पहिलेदेखि नै ओलीप्रति आक्रमक रहँदै आएका छन्। 

'संसद विघटन रोक्नैका लागि देउवालाई प्रधानमन्त्री बनाउनै पर्ने भयो। ओलीले गर्ने संसद विघटन रोक्न देउवाको समर्थनमा हस्ताक्षर गरेका हौँ', उनको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, 'ओलीले पार्टी एकता पनि नगर्ने र संसद पनि बाँच्न नदिने अवस्था देखेर यो कदम हामीबाट चालिएको हो।'
 





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार २०:११:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया