पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असहमति जनाउँदै त्यही दिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पदबाट राजीनामा दिएका थिए योगेश भट्टराईले।
पार्टीको विवादमा संसद नै विघटन गर्ने प्रधानमन्त्रीको उक्त कदमसँग गम्भीर असहमति जनाउँदै सिंहदरबार छाडेका भट्टराई त्यसपछि तत्कालीन नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहको आन्दोलन परिचालन कमिटीका सह-संयोजक पनि भए।
पुस ५ देखि फागुन ११ सम्म आन्दोलनको मोर्चामा होमिएमा भट्टराईलाई प्रधानमन्त्री केपी ओलीले 'वैगुणी केटो'को संज्ञा पनि दिए। फागुन २३ मा सर्वोच्च अदालतले साविककै नेकपा एमाले र माओवादी केन्द्र फर्काइदिए पछि उनी माधवकुमार नेपालसँगै पेरिस डाँडाबाट बिदा भएर पुरानै पार्टीमा फर्किए।
त्यसपछि माधवकुमार नेपालले ओलीसँगको विवादलाई लिएर एमालेमा समानान्तर कमिटी चलाए। चैत ३ देखि ५ सम्म काठमाडौंमा भएको नेपाल पक्षको भेलामा पनि सहभागी भएका भट्टराईले त्यसपछि एमाले एकताको बाटो खोज्न थाले।
एमालेको २०५४ सालको विभाजन भोगिसकेका उनीसहितका दोस्रो पुस्ता चैतदेखि नै विवाद मिलाउन सक्रिय थियो। वैचारिक मतभेद भए पनि ओलीले मन पराउने एकजना नेतामा थिए योगेश पनि। माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी खोल्न पनि नसक्ने र माओवादीमा मिल्न पनि नसक्ने जटिल अवस्थाबीच योगेशले दुवै पक्षलाई मिलाउन संवाद थालेका थिए।
उनी, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसहितका नेताहरु ओलीविरोधी अभियानमा त थिए तर सँगै एकताको विकल्प पनि खोजिरहेका थिए। चैत २ मा धुम्बाराहीमा भएको दुई पक्षबीचको वार्ता उपलब्धिमूलक नभए पनि उनीहरु ओली पक्षका शंकर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङसँग सम्वादमा जुटेका थिए।
आरोप प्रत्यारोप र समानान्तर संगठन अनि ओलीको कारबाहीबीच चैतभर गरिएको प्रयासले वैशाखमा सार्थकता पायो। वैशाख ७ गते नेता योगेश भट्टराई बालुवाटार छिरे। पार्टी जोगाउन आग्रहसहित बालुवाटारमा उनले तत्काल माधव नेपालसँग वार्ता थाल्न आग्रह गरे।
त्यही आग्रहले काम पनि गर्यो। नभन्दै ओली र नेपालबीच होटल मेरियटमा वैशाख ८ र १० गते दुई चरण वार्ता भयो। कुरा नमिले पनि दुई नेताबीच संवादको ढोका दोस्रो तहका नेताहरुले नै खोलेका थिए।
त्यसपछि वैशाख २३ मा योगेश भट्टराई, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसहित दुवै पक्षका नेताहरु होटल याक एन्ड यति र होटल मेरियटमा भेटे। ती वार्ताले ओली-नेपालमाथि दबाब बढाएको थियो। त्यही आसपासमा भट्टराईले एमाले महासचिव ईश्वर पोखरेलसँग पनि पार्टी फुटको डिलमा पुगेको भन्दै मिल्ने उपायका लागि दबाब दिए।
दोस्रो तहका नेताबीचको सहमतिअनुसार वैशाख २४/२५ मा भेट्ने भनेका ओली-नेपालबीच त्यसपछि वैशाख ३० मा चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा भएको चार घण्टा लामो वार्तापछि एमाले मिल्ने दिशामा गएको थियो।
त्यसलगत्तै वैशाख ३१ ओली-नेपाल सिंहदरबारमा बसेर कार्यदलतर्फ जाने निर्णय लिएका थिए। त्यही अनुसार जेठ २ मा ओली-नेपालले १० सदस्यीय कार्यदल बनाए। कार्यदलले काम गरिरहेकै बेला माधव नेपालले बागमतीको राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई असहयोग गरेर हराइदिए।
एमाले मिल्ने दिशातर्फ गइरहेका बेला योगेश, सुरेन्द्र र गोकर्णसहितका नेताहरु असहयोग गर्ने पक्षमा थिएनन्। उनीहरुले यसो गर्दा एमाले मिल्ने भन्दा फुट्ने दिशामा जाने सुझाएका थिए। तर नेपालले आफूले उठाएको उम्मेदवारलाई जिताउने भन्दै अड्डी कसे।
नेपालको यो अडानले बादल हारे भने कार्यदल पनि प्रभावित भयो। एमाले मिलाउन कार्यदलले काम गरिरहेका बेला नेता नेपालले आज नयाँ प्रधानमन्त्रीका लागि विपक्षी नेता शेरबहादुर देउवाको पक्षमा उभिने निर्णय लिए।
उनले यसअघि संसद बोलाउन लिइएको आफू पक्षीय २७ सांसदको हस्ताक्षर लिएर देउवालाई बुझाएका थिए। शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा माधव नेपालले आफू पक्षीका कुनै सांसदको हस्ताक्षर लिएका थिएनन्।
तर देउवालाई सघाउने नेपालको निर्णयमा योगेशले गम्भीर असहमति जनाए। पुरानै हस्ताक्षर बुझाइएको थाहा पाएपछि उनले पार्टीको अन्तर संघर्षलाई विपक्षी नेता जिताउने साधनका रुपमा प्रयोग गर्न नहुने भन्दै हस्ताक्षर हटाइदिन भने।
उनको त्यो निर्णयअनुसार नेपाल पक्षले उनको हस्ताक्षर देउवालाई सघाउने सांसदको सूचीबाट हटाइदियो। त्यसपछि उनले शुक्रबार आफ्नो जीवनकै कठिन दिन भन्दै आफ्नो विचार सार्वजनिक गरेका छन्।
भट्टराईले पार्टीको एकता जोगिएका की भनेर आफूले विपक्षीको सरकार बनाउनका लागि हस्ताक्षर नगरेको बताएका छन् । उनले शुक्रबारको दिन आफ्नो राजनीतिक इतिहासकै कठिन भएको बताएका छन्। 'मेरो यो निर्णय सही थियो वा गलत भन्ने भनेर इतिहासले गर्ने मूल्यांकनका लागि खडा भएको छ', उनले भनेका छन्।
उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। यससँगै योगेशले माधव-झलनाथको साथ पनि छाडेका छन्।
उनको यो निर्णयपछि माधव पक्षीय कार्यकर्ताहरु उनीविरुद्ध खनिन थालेका छन्। यसअघि माधव पक्षलाई छाडेका नेता विष्णु रिजाललाई जस्तै नेपाल पक्षका कार्यकर्ताले सामाजिक सञ्जालमा गालीसहितका शब्द प्रयोग गर्न थालेका छन्।
शुक्रबार उनी मात्रै नभइ अन्य ६ जना सांसदले पनि संसद बोलाउन लिइएको हस्ताक्षर प्रतिपक्षी नेतालाई सघाउन प्रयोग गरिएको भन्दै आपत्ति जनाएका थिए। माधव पक्षीय एमाले नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, गणेश पहाडी र जयकुमार राईले हस्ताक्षर दुरुपयोग भएको बताएका थिए।
उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको जानकारी ओलीलाई गराएका थिए। देउवालाई सघाउने माधव नेपालको निर्णयका कारण उनको पक्षमा रहेका नेताहरुले थप छाड्दै जाने देखिएको छ। योगेशको यो निर्णयपछि नेपालसँग अब उनको सहकार्य करिब सकिएको उनीनिकट नेताहरु नै बताइरहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।