प्रधानमन्त्रीको आरोप : माधव नेपाल प्रतिक्रियावादीको मतियार, प्रचण्ड संस्कारहीन

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिस्ट आन्दोलनको विरुद्धमा लागेको आरोप लगाएका छन् । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझीद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई प्रतिक्रियावादीको मतियार भएको आरोप लगाएका हुन् । कम्युनिस्ट आन्दोलनविरुद्ध इतिहासमा कहीँ नदेखिएको अनुशासनहीनता र अराजकता देखिएको उनले बताए । 

‘आज पनि हामी देख्न सक्छौँ, आन्दोलनका विरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, वीभत्स, कुरुपताको हद, अराजकता र विपक्षीसँग मिलेर, विरोधीहरुसँग मिलेर, नेपालमा छरिएको, नेपालभर फिजिँएको उज्यालोलाई निभाउने देशी–विदेशी जनविरोधी, प्रतिक्रियावादी शक्तिहरु छन्,’ प्रधानमन्त्रीको आरोप छ, ‘तिनीहरुको मतियार भएर, तिनीहरुको सेवक भएर निर्लज्जतापूर्वक अहिले पनि आन्दोलनका विरुद्धमा लाग्ने तत्वहरु देखिएका छन् ।’

कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप अदालतको फैसलाअगावै पार्टी फुटाइएको, तर पार्टी फुटको दोष अदालतलाई लगाइएको उनको आरोप थियो । नेता पतीत भएर बिकेपछि आन्दोलनलाई सिध्याउन उद्यत्त हुने उल्लेख गर्दै उनले एकीकृत बनाइएको आन्दोलनलााई ध्वस्त पार्ने प्रयास भइरहेको बताए । 

नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई गरेको समर्थनप्रति लक्षित गर्दै प्रभनमन्त्रीले भने, ‘जुन दलसँग प्रतिस्पर्धा गरियो, आफ्नो दलको सरकार गिराएर जोसँग प्रतिस्पर्धा गरियो र गर्नु छ, उही दलको नेतालाई प्रधानमन्त्री बनाएर । अनुशासन तोडेर पार्टी निर्णय गरिरहनुपर्दैन त्यस्ता कुरा ? यसै पनि यो बुझेको कुरा हो, सामान्य कार्यकर्ताले बुझेको कुरामा नेताले बुझ्दैनन् भन्ने होइन । तर, जब नेता बिक्छन् । जब नेता पतीत हुन्छन् । तब आन्दोलनलाई सिध्याउन उद्यत्त हुन्छन्।’

सोही कार्यक्रममा प्रधानमन्त्रीले कांग्रेस सभापति देउवाको वक्तव्यबारे पनि टिप्पणी गरे । संसद विघटनविरुद्ध देउवाले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई आदरार्थी सम्बोधन नगरेको भन्दै प्रधानमन्त्रीले कटाक्ष गरे । 



प्रधानमन्त्री ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत १५ वर्षदेखि असभ्यता र संस्कारहीनताको पराकाष्ठा देखाएको आरोप लगाए । उनले भने, संस्कारहीनताको पराकाष्ठा देखिन्छ, त्यहाँ । अब अहिलेको राजनीति त नेपाली कांग्रेसले पनि कसलाई गुरु मानेको हो, कसलाई गुरु थापेको हो मलाई अचम्म लाग्छ ।’

प्रधानमन्त्री ओलीले नेपाली समाजलाई संस्कारयुक्त समाज बनाउनुपर्नेमा जोड दिए । पुस्तकको विमोचन गर्दै उनले आफ्नो जेलजीवनको स्मरण समेत गरे ।



  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार १८:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया