अहिलेको टिम बार्सिलोनाको स्तर अनुसारको छैन : कोम्यान

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले अहिलेको टिम क्लबको स्तर अनुसार नरहेको बताएका छन् ।

उनले लिगको अन्तिम खेल दोस्रो डिभिजनमा घटुवा भएको इबरमाथि १-० को कठिन जित निकालेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । यो जितसँगै बार्सिलोनाले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

‘हामी यस्तो क्षणमा आइपुगेका छौँ, टिमले राम्रो गर्‍यो तर यो मैले र क्लबले चाहेको स्तरको टिम होइन । हामी परिवर्तनको प्रयास गरिरहेका छौँ’, कोम्यानले खेलपछि भने, ‘टिममा रहेका पुराना खेलाडीले आफूलाई प्रमाणित गरे तर युवा खेलाडीलाई राम्रो बन्न अझै अनुभवको खाँचो छ ।’

यसपटक क्लबले ठूलो हेरफेर गर्ने हल्ला चलिरहेको छ । बार्सिलोनाले इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट स्ट्राइकर सर्जियो अगुइरोलाई भित्र्याएको छ ।

फ्रेन्च क्लब लियोनबाट फरवार्ड मेम्फिस डिपेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । 

क्लबले कोम्यानलाई पनि हटाउने तयारी गरेको चर्चा भइरहेका बेलमा उनले भने इबर विरुद्धको खेल बार्सिलोनाका लागि आफ्नो अन्तिम नभएको बताएका छन् ।



‘मलाई लाग्दैन बार्सिलोनाका लागि यो मेरो अन्तिम खेल हो किनकि  क्लबसँगको सम्झौता अझै बाँकी छ’, कोम्यानले भने ।

‘यदि साँच्चै क्लब परिवर्तन चाहन्छ भने उनीहरूले मसँग कुरा गर्नुपर्ने हो’, उनले थपे, ‘मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन ।’



  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १६:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया