'नेपाली महिला क्रिकेटका लागि सुनौलो सपनाको नजिक छौं'
‘जुन कुनै क्षेत्रमा पनि आफू दृढ संकल्पका साथ उभिएर त्यसमा टिकिरहे परिवर्तन सम्भव छ ।’
फरकधार / १० जेठ, २०७८

रुबिना क्षेत्री नेपाली महिला क्रिकेट टोलीकी कप्तान हुन् । क्रिकेट खेल्ने चाहनाले डोर्याउँदै गर्दा १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा प्रवेश पाएकी क्षेत्री हालसम्म यसैमा आफ्नो भविष्य खोजिरहेकी छन् ।

रुबिनाको जीवनमा क्रिकेट निर्विकल्प बनेर आयो । क्रिकेटमै उनले आफ्नो जीवन समर्पित गरिन् । नेपाली महिला क्रिकेटका हरेक सुख-दुःखकी साक्षी हुन्, उनी ।

रुबिनाको बाल्यकाल

कक्षा २ मा पढ्दा नै रुबिनामा क्रिकेटप्रतिको मोह जाग्न थालेको थियो । स्कुल पढ्दै गर्दा उनी स्कुलका टुर्नामेन्टमा सहभागी भइन् । पहिलो पटक क्रिकेट खेल्दै गर्दा नेपालमा महिला क्रिकेट टोली छ भन्ने उनले थाहा पाइन् । मनमा राष्ट्रिय टोलीमा सहभागी भएर खेल्ने सपना बुनिन् उनले । परिवारले साथ दियो । आमा र दाजुको साथ र हौसलाले आफूलाई यहाँसम्म ल्याइपुर्‍याएको मान्छिन् उनी । 

राष्ट्रिय टोलीमा

२००९ मा १५ वर्षको उमेरमा पहिलो पटक उनले राष्ट्रिय टोलीबाट खेल्ने मौका पाइन् । विभिन्न उमेर समूहका खेल खेल्दै उनले यू-१९ टोलीबाट उत्कृष्ट प्रदर्शन गरिन् । यो प्रदर्शनले ठूलै खुड्किलो पार गर्न मद्दत गर्‍यो । उनी नेपाली सिनियर टोलीको कप्तानका रूपमा सिफारिस भइन् । साँच्चै यो उनका लागि एउटा उत्कृष्ट अवसर र ठूलो चुनौती थियो । उनले स्वीकारिन् । उनका हरेक कदम नेपाली महिला क्रिकेटलाई अघि बढाउन दृढसंकल्पित बने ।

पहिलो पटक कप्तानीको जिम्मेवारी लिँदा

पहिलो पटक कप्तानीको जिम्मेवारी सम्हाल्दै गर्दा उनी २१ वर्षकी थिइन् ।  त्यतिबेलै नेतृत्वमा रहने गुण भने आफूमा रहेको उनी बताउँछिन् । यु-१९ टोलीको कप्तानी सम्हालेर खेलमा राम्रो प्रदर्शन गरेपछि उनलाई सिनियर टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो ।

उनीभन्दा धेरै सिनियर खेलाडी हुँदा पनि उनलाई सर्वसम्मत कप्तानका रूपमा छानियो । उनी भन्छिन्, ‘पहिलो पटक कप्तानीको जिम्मेवारी दिँदा निकै डर लागेको थियो, तर दिदीहरूको साथ र सहयोगले जिम्मेवारी निर्वाह गर्न सफल भएँ ।’

२००९ देखि हालसम्म दृढ कदम

महिला क्रिकेट टोलीमा २००९ देखिको परिवर्तनकी साक्षी हुन्, रुबिना । उमेर समूहबाट खेल सुरु गरेकी उनी अहिले राष्ट्रिय टोलीको नेतृत्वमा छन् । उनी भन्छिन्, ‘मैले क्रिकेट सुरु गर्दा केही थिएन । टुर्नामेन्टहरू हुँदैनथे । घरेलु मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सहभागिता थिएन । अहिले टोलीमा रहेका सिनियर खेलाडीहरू सीता, इन्दु, नेरी हामी सबैले आफैं संघर्ष गर्दै यो स्थानसम्म आएका हौं ।’

उनले करियर सुरु गरेपछि राम्रा-नराम्रा दुवै थरिका खेलाडी नेपाली क्रिकेटमा जोडिन आइपुगे । क्रिकेटमा लगानीको कमी, प्रतियोगिताको कमी, आर्थिक तथा पारिवारिक उल्झनले धेरैले क्रिकेट छोडे । उनी भन्छिन्, ‘धेरै खेलाडीहरू आउनु भयो । केही संघर्ष गरेरै अहिलेसम्म टिक्नु भएको छ । धेरैले पारिवारिक तथा आर्थिक समस्याका कारण खेल छोड्नु भयो ।’ 

उनी आफैंलाई पनि कहिले काहीँ त क्रिकेट छोडौं छोडौं लाग्थ्यो । परिवारको हौसला साथ र सहयोगले भावी पुस्ताका लागि करियर बनाउन उनी पछि हटिनन् ।

'महिला खेलाडीका लागि घरेलु प्रतियोगिता थिएनन् । कति पटक त एक्लै क्यान र सम्बन्धित निकायलाई घच्घच्याउन पुगेँ । त्यसैको फलस्वरुप महिला क्रिकेट टोली यो अवस्थामा ल्याउन सफल भएका छौं' रुबिना सुनाउँछिन् । 

दुःख नगरी सुख कहाँ आउँछ र !

छोरी मान्छे, १२ वर्षकै उमेरमा एक्लै केटाहरूसँग क्रिकेट खेल्दै गर्दा देख्नेहरूले आ-आफ्नै तानाबाना बुने । आमालाई कुरा लगाए । खेल्न नपठाउनुस् पनि भने । उनले सुनाइन्, ‘म एकदमै भाग्यमानी छोरी हुँ । सबैले कुरा काट्दा पनि मेरी आमा मेरो हिम्मत बनेर साथमा उभिनु भयो । आमा र दाजुले साथ नदिएको भए सायद म यो क्षेत्रमा हुन्नथें कि ।’

क्रिकेटमा लाग्न प्रेरित गरिरहने दाजुले घरबाट खाजाका लागि दिएको पैसा बचाएर बहिनीका लागि २५०० को ब्याट किनिदिए । परिवारको यो साथ र सहयोग सञ्जीवनी बन्यो खेलका लागि । मैदानमा गर्नु परेका संघर्षलाई पैतालामुनि कुल्चिएर उनी अडिग भइरहिन् ।

क्रिकेट किट महंगो हुन्थ्यो । त्यो बेला आर्थिक अभाव उनको परिवारले उनलाई कहिल्यै महसुस हुन दिएन । क्रिकेट खेलेर आउँदा लागेको चोट देखेर आमा भक्कानिएर रुने गर्थिन् । क्रिकेटमा पनि खासै प्रतियोगिता केही थिएनन्, त्यसैमाथि समाजले लगाइदिएको लाल मोहर- छोरीले पढ्नु पर्छ, खेलेर केही हुँदैन ।

उनी भन्छिन्, ‘बेलाबेलामा यिनै कुराले क्रिकेटप्रतिको मोह भङ्ग नभएको कहाँ हो र ! फेरि आमालाई सम्झेँ, दाजुलाई सम्झेँ, उहाँहरूको हिम्मत र हौसलालाई सम्झेँ भाग्ने साहस भएन । विगत फर्केर हेर्दा त्यो बेला नछोडेर अहिले यहाँ आएँ खुसी छु ।’

उनीसँगै र उनीभन्दा अगाडिदेखि महिला क्रिकेटलाई माया गरिबसेका सीता राना, नेरी र इन्दु जस्ता खेलाडी उनका प्रेरणा बने । उनीहरूको क्रिकेट प्रतिको लगावले उनलाई पनि यस क्षेत्रमा जोडिई रहन निकै मद्दत गर्‍यो ।

पहिले कुरा काट्नेका लागि अहिले जवाफ स्वरूप मैदानमा उनको बल र ब्याट बोल्ने गर्छ । अहिले रुबिनाको राम्रो बलिङ, राम्रो ब्याटिङ देखेर सर्वत्र चर्चा हुन्छ ।

नयाँ पिँढीको बढ्दो चाह

१२ वर्षको यो लामो यात्रालाई सम्झिँदै उनी भन्छिन्, ‘हामी क्रिकेट भनेर यो क्षेत्रमा आउँदा केही थिएन । हरेक पटक हामीले हाम्रो हक हित र भावी पुस्ता सम्झिएर लड्यौँ । फलस्वरुप अहिले मासिक तलबको व्यवस्था भयो ।’

तलबमात्रै होइन, यस पटक प्रधानमन्त्री कपमा सानै उमेरमा क्रिकेट प्रति युवा पुस्ताले देखाएको चासोलाई उनले सुधारिएको महिला क्रिकेटको स्थिति बताइन् ।

उनले नेपाली महिला क्रिकेटको जिम्मेवारी सम्हाल्दै गर्दा एउटा सपना बोकेकी थिइन् । नेपालले विश्वकप छनोट खेलेर महिला क्रिकेटको मुहार फेर्ने । उनले देखेको यो सुनौलो सपना सायद छिट्टै पूरा हुनेछ । 

कोरोना महामारीले प्रतियोगिता नरोकेको भए भारतको उत्तराखण्डसँगको प्रतियोगिता र टी २० क्वालिफायरमा सिरिज क्यानको संयोजकत्वमा यही वर्ष पूरा हुने थिए ।

यस्ता प्रतियोगिताले महिला क्रिकेटमा थप प्रगति ल्याई विश्वकप छनोट खेल्ने उनको सपना पनि छिट्टै पूरा हुनेमा उनी विश्वस्त छिन् ।

युवा पुस्तालाई रुबिनाको अनुरोध

रबिनाले अहिले आएका युवा पुस्तालाई क्रिकेटमा सिरियस भएर लाग्न अनुरोध गरेकी छन् । उनी भन्छिन्, ‘धेरै दुःख गरेर हामीले महिला क्रिकेटलाई यहाँसम्म ल्याएका छौं । यस क्षेत्रमा आएर खेलाँची नगरौं । महिला क्रिकेटलाई सबै मिलेर माथि उकास्न तर्फ लागौं ।’

अहिलेको अवस्थामा महिला क्रिकेटमा भविष्य उज्ज्वल रहेको उनले बताइन् । क्रिकेटको विकास तथा उन्नतिका लागि नयाँ पुस्ताको आगमनले निकै सहयोग र टेवा पुग्ने उनले बताइन् । उनले भनिन्, ‘मैले जे जति जानेको छु, म सिकाउँछु, सिक्दै सिकाउँदै महिला क्रिकेटलाई उकास्न तर्फ लागौं ।’

महिला क्रिकेटले व्यावसायिकता लिँदै गर्दा उनी निकै उत्साहित छिन् । भावी पुस्ताले यो यात्रालाई धेरै अघिसम्म पुर्‍याओस् भन्ने उनको चाहना छ ।

अहिलेको टोली संरचना, प्रशिक्षक तथा व्यवस्थापन पनि निकै सुधारिएको छ । उनले भनिन्, ‘अब आउने पुस्तालाई सजिलो छ । प्रशिक्षक तथा व्यवस्थापन, बन्द प्रशिक्षणको समय वृद्धि, मासिक भत्ताको व्यवस्था, महिला क्रिकेटका लागि ‘प्लस पोइन्ट’ रहेको उनले बताइन् ।

फिटनेस अपरिहार्य

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री अहिले आफ्नो घर झापामा छिन् । पहिलो लहरको कोरोना संक्रमणका बेला पनि उनी झापामा नै थिइन् । यो बेला आफैं फिट र स्वास्थ्य कसरी रहन सकिन्छ त्यस तर्फ निकै सचेत छिन् । 

उनी निषेधाज्ञा पालना गर्दै आफ्नो ‘फिटनेस’मा ध्यान दिन सम्पूर्ण खेलाडीलाई अनुरोध गर्छिन् । खेलाडीको जीवनमा फिटनेस अपरिहार्य भएकाले यो कार्यलाई निरन्तरता दिन उनले अनुरोध गरेकी हुन् । 

उनले अहिले भारतीय फिटनेस प्रशिक्षकसँग प्रशिक्षण लिइरहेकी छन् । उनी भन्छिन्, ‘हामीलाई फिटनेस अपरिहार्य छ । ‘फास्ट रनिङ स्पिड’ चाहिन्छ । नत्र ‘क्याच ड्रप’ हुने रनहरू छुट्ने हुन्छ । त्यस कारण अहिले निषेधाज्ञाको समयमा पनि फिटनेसलाई ध्यान दिनुपर्छ ।’ 

उनका अनुसार अहिले महिला क्रिकेटर सबैसँग उनको सम्पर्क रहेको र सबैले फिटनेसमा ध्यान दिइरहेको बताइन् ।

  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार २०:४०:२०,   अन्तिम अपडेट : जेठ १०, २०७८ साेमबार २०:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया