महामारीकै बीच दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि

कोभिड-१९ को दोस्रो लहर सुरु भएपछि सरकारले जारी गरेको निषेधाज्ञाको मौका छोपी व्यवसायीले दैनिक उपभोग्य सामग्रीमा चर्को मूल्य वृद्धि गरेका छन् । वैशाख १५ देखि जेठ १० को बीचमा दाल, चामल, खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । उपभोग्य सामग्रीमा अचाक्ली मूल्य वृद्धि हुँदा निम्न स्तरका श्रमिक परिवारलाई छाक टार्नै समस्या भएको छ । 

उपभोक्ता अधिकारकर्मीले सरकारी अनुगमन फितलो हुँदा महामारीका बेला व्यवसायीले मनपरी गरेको बताउँदै आएका छन् । व्यवसायी भने ढुवानीमा समस्या रहेका कारण मूल्यवृद्धि गर्नुपरेको दाबी गर्छन् । ‘एक महिना भयो आम्दानी गर्न नपाएको । खानेकुराको मूल्य बढेर आकाश छुन लागिसक्यो, बाँच्नै कठिन भो’, निर्माण व्यवसायका श्रमिक पूर्ण तामाङ गुनासो गर्छन् ।

खुद्रा व्यापार संघले विगत एक महिनामा उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि भइरहेको जनाएको छ । संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्यका अनुसार वैशाख १५ मा प्रतिकेजी १६० रुपैयाँ रहेको रहरको दाल अहिले १८५ रुपैयाँ पुगेको छ । मुसुरो दाल प्रतिकेजी ११० रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ । यस्तै मासको दाल प्रतिकेजी १६० बाट बढेर १८० रुपैयाँका दरले बिक्री भइरहेको छ ।

त्यस्तै, भान्सामा प्रयोग हुनेमध्ये खाने तेलको मूल्यमा अत्यधिक भाउ बढेको छ । सनफ्लावर तेलको मूल्य २८० रुपैयाँ प्रतिलिटर पुगेको छ । जबकी निषेधाज्ञा  जारी हुनु पहिले प्रतिलिटर २४० रुपैयाँ थियो । तोरीको तेल २३० रुपैयाँ प्रतिलिटरबाट बढेर २५० रुपैयाँ र भटमासको तेल २३० रुपैयाँ प्रतिलिटरबाट बढेर २५५ रुपैयाँमा बिक्री भइरहेको छ ।

जिरा मसिना चामल २५ केजी बोराको मूल्य ब्रान्डअनुसार १५५० रुपैयाँ देखि १८५० रुपैयाँसम्म पुगेको छ । वैशाख १५ अघि यी चामल बोरोको १५०० देखि १७०० रुपैयाँसम्ममा पाइन्थ्यो । ३० केजीको सोना मन्सुली मूल्य प्रतिबोरामा ५० रुपैयाँदेखि सय रुपैयाँसम्म बढेको वज्राचार्य बताउँछन् । चिनीको मूल्य पनि प्रतिकेजी ९५ रुपैयाँ पुगेको छ ।

किन बढ्यो मूल्य ?



थोक बिक्रेताले नै मूल्य बढाएर दिएका कारण खुद्रा मूल्य बढेको हो । उनले भने, ‘सरकारले साना-साना पसलमा मात्र अनुगमन गर्छ । थोक बिक्रेता र उद्योगमा अनुगमन गर्न कर्मचारी डराउँछन् ।’ सरकारले ठूला व्यवसायमा अनुगमन गर्नै नसक्ने, गर्नै नचाहने र साना व्यवसायीलाई मात्रै अनुगमन गरेर तर्साउने गरेको उनको आरोप छ ।

यस्तै, थोक बिक्रेता संघका अध्यक्ष देवेन्द्र भट्ट यस्तो अवस्थामा मूल्य वृद्धि हुनु स्वाभाविक भएको बताउँछन् । उनी भन्छन्, ‘ढुवानी गर्न कठिन छ । ढुवानीकर्ताले बढी मूल्य लिइरहेको अवस्थामा पाँच, सात रुपैयाँ मूल्य बढ्नु स्वाभाविक हो । यसलाई अन्यथा लिनु हुँदैन ।’



सरकारी मूल्य थोरै सस्तो

व्यवसायीको खुद्रा मूल्यको तुलनामा सरकारी मूल्य भने थोरै सस्तो देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार दाल, चामल, खाने तेल लगायत वस्तुको मूल्य बजारको तुलनामा थोरै सस्तो छ । यद्यपि विगतको तुलनामा भने केही वस्तुको मूल्य बढेको कम्पनीले जनाएको छ ।

वैशाख दोस्रो साता सनफ्लावर तेल र तोरीको तेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ थियो । उक्त मूल्य बढेर सोमबार क्रमशः २५५ रुपैयाँ र २४० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । भटमासको तेलको मूल्य भने यथावत् रहेको कम्पनीले जनाएको छ । सोमबार भटमास तेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ लिटरका दरले रहेको छ ।

सनफ्लावर तेल र तोरीको तेलको मूल्यवृद्धिका सम्बन्धमा आफूलाई जानकारी नरहेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् । मूल्य वृद्धि भएको विषयमा जानकारी छैन’, उनले भनिन्, ‘यो पुरानै मूल्य सूची हो ।’

के भन्छ नियामक निकाय ?

वाणिज्य विभाग भने बजार अनुगमन निरन्तर भइरहेको दाबी गरिरहेको छ । विभागका निर्देशक सागर मिश्रले विभागले निषेधाज्ञाको समयमा पनि ३ देखि ४ टोलीले निरन्तर अनुगमन गरिरहेको बताए । उनले भने, ‘खाद्यान्न पसलको अनुगमन गर्न बिहान-बिहान टोली परिचालन भइरहेको छ । विभागका अनुसार वैशाख १५ यता खाद्यान्नका ४१ वटा पसलमा अनुगमन गरेको छ ।

खाने तेल लगायतका वस्तुमा भएको मूल्य वृद्धिका सम्बन्धमा व्यवसायीबाट बिल मगाएर अध्ययन भइरहेको निर्देशक मिश्रले बताए । विभागले मूल्य नियन्त्रणका लागि अनुगमन गरेको दाबी गरे पनि खुद्रा व्यवसायीले भने जस्तै उद्योगी एवम् ठूला व्यवसायमा अनुगमन भएको देखिँदैन । उद्योगी र ठूला व्यवसायमा प्रभावकारी अनुगमन नभएका कारण अचाक्ली मूल्य वृद्धि भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार १६:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया