एमालेबाट निष्कासित नेता माधवकुमार नेपालसहित विपक्षी दलका गठबन्धनको बैठक मंगलबार सिंहदरबारमा बसेर सकिएको छ। नेता नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसहितको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेर सकिएको हो।
उक्त बैठकमा प्रतिनिधिसभा विघटनको विपक्षमा रणनीतिबारे छलफल भएको बताइएको छ। विपक्षी दलका १४६ सांसदहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन मागसहित दिएको रिटलाई लिएर प्रस्तुत हुने रणनीतिबारे पनि कुरा भएको छ।
विपक्षी गठबन्धनको बैठकमा केही कानुनविद्हरु पनि सहभागी भएको बताइएको छ। नेपाली कांग्रेसका नेता रामेश लेखकले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध परेका रिटहरुमाथि सर्वोच्च अदालतमा हुने सुनुवाइबारे रणनीति तय गर्न कुराकानी भएको बताए।
बैठकपछि बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राविधिक कुराकानी मात्रै भएको बताए। उनले रिटका लागि हस्ताक्षर गरेका सांसदहरुको विवरण मिलाउने काम आजको बैठकमा भएको बताए।
नेता लेखकले भोलिदेखि सर्वोच्चमा सुनुवाइ हुने आँकलनसहित आज छलफल भएको बताए। 'भोलि-पर्सिबाट रिटमाथि सुनुवाइ हुन सक्छ', लेखकले भने, ‘त्यही विषयमा केन्द्रित भएर कानुनविद्सँग परामर्श भएको छ। बहुमत सांसदसहितको रिट परिसकेको अवस्थामा त्यसको पक्षमा रणनीति तय गर्ने गरी कुराकानी भएको छ।'
आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको योजनामा देश नै खतरामा पार्ने खेल भइरहेको बताए। 'देश नै भन्ने खतरा रहेको ठहर गरेका छौँ। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई नै समाप्त गर्ने षड्यन्त्र भइरहेको छ', उनले भने।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।