\
कर्णाली प्रदेशका विकट जिल्लामा खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानलाई कर्णाली प्रदेश सरकारले साढे दुई करोड रुपैयाँ अनुदान दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय सुर्खेतलाई २ करोड ४७ लाख ९८ हजार ८ सय ३३ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । निर्णय अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् उक्त रकम दिइने छ ।
प्रदेशका विशेष गरी हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट लगायतका जिल्लामा बर्सेनि करोडौँ मूल्यको खाद्यान्न ढुवानी हुने गरेको छ । हिमाली जिल्लाहरूमा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा नेपाल सरकारले अनुदानमार्फत बर्सेनि हजारौँ क्विन्टल चामल पढाउने गरेको छ ।
विकट जिल्लाका सबै क्षेत्रमा यातायातको पहुँच नहुँदा धेरैजसो खाद्यान्न हवाई यातायात, खच्चर, घोडामार्फत् ढुवानी गर्ने गरिएको छ । यसरी ढुवानी गर्दा मात्रै राज्यको करोडौँ बजेट सकिने गरेको छ ।
मन्त्रिपरिषद्ले खाद्यान्न खरिदका लागि कालिकोट र डोल्पाका स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्न उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।
अक्सिजनका लागि २ करोड
बैठकले स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय कालिकोटमा पर्याप्त क्षमताको रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गर्न २ करोड बजेट उपलब्ध गराउने भएको छ । जसमा निर्देशनालयलाई १ करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपैयाँ थप बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै प्रदेश सरकारले प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरूको करार म्याद समाप्त भएको मितिले आगामी असार मसान्तसम्म म्याद थप गर्ने, रिक्त दरबन्दीमा असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।