राष्ट्रपतिको फोन लगत्तै चीनले दिने भयो १० लाख डोज कोरोना खोप

राष्ट्रपति भण्डारीले आज दिउँसो चिनियाँ समकक्षी सी जिनपिङसँग ४० मिनेट लामो टेलिफोन सम्वाद गरेलगत्तै चीनले नेपाललाई थप १० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको 

त्यसको केही बेरमै कोरोनाको दोस्रो महामारी झेलिरहेको नेपाललाई चीनले उक्त सहयोग घोषणा गरेको हो। यो कुराको पुष्टि नेपालस्थित चिनियाँ राजदूत होऊ यान्कीले गरेकी छन्। राष्ट्रपति भण्डारीले आज दिउँसो चिनियाँ समकक्षी सी जिनपिङसँग ४० मिनेट लामो टेलिफोन सम्वाद गरेकी थिइन्। 

उक्त वार्तापछि चीनले थप १० लाख डोज कोरोना खोप सहयोगस्वरुप दिने घोषणा गरेको हो। यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप दिएको थियो। त्यस्तै पटक पटक गरेर स्वास्थ्य सामाग्री पनि उपलब्ध गराइसकेको छ। चीनले ३० हजार लिटर लिक्विड अक्सिजन र २० हजार थान अक्सिजन सिलिन्डर पनि दिइसकेको छ।

यसअघि राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले दुई नेताबीचको कुराकानीबारे खुलाएका थिए। 'राष्ट्रपतिज्यूले कोरोना खोपबारे हिजो भारतीय समकक्षीलाई एउटा पत्र पठाउनु भएको थियो। उहाँले आज चिनियाँ राष्ट्रपतिसँग ४० मिनेट लामो संवाद गर्नु भएको छ', ढकालले फरकधारसँग भने, 'उहाँको मुख्य चासो कोरोनाविरुद्धको खोपमै थियो। चिनियाँ समकक्षीलाई नेपालको संकट अवगत गराउँदै उहाँले खोप उपलब्ध गराइदिन अनुरोध गर्नु भएको छ।'

टेलिफोन संवादमा अहिले नेपालको प्राथमिकता कोभिड-१९ बाट बच्न खोप नै भएको बताए। 'नेपाल खोप खरिद गर्न इच्छुक रहेको भन्दै राष्ट्रपतिज्यूले यसमै जोड दिएपछि चीनबाट पनि सकारात्मक जवाफ आएको छ', उनले भनेका थिए। राष्ट्रपति सीको सकारात्मक जवाफ लगत्तै खोप सहयोग घोषणा भएको हो। 



संवादका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाललाई आवश्यक मात्रामा खोप उपलब्ध गराउन तयार रहेको बताएका थिए। राष्ट्रपति सीले नेपाल असल छिमेकी भएकाले यसअघि पनि ८ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराएको बताउँदै अब थप खोप पनि उपलब्ध गराउने बताएका थिए।




 

  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार १७:४३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया