अध्यादेशबाट होइन नियमानुसारै बजेट आउँछ : मुख्यमन्त्री राई
खोप किन्न बजेट विनियोजन

प्रदेश-१ सरकारले अध्यादेशमार्फत् बजेट नल्याउने मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

विपक्षीहरूले हल्ला गरेजस्तो सदन छलेर बजेट ल्याउने तयारीमा सरकार नरहेको राईले जिकिर गरे ।  

विपक्षी दलहरूले संयुक्त बैठक बसी प्रदेश सरकारले सदन छलेर बजेट ल्याउने तयारी गरिरहेको आरोप लगाएका थिए । 

उनले फरकधारसँग कुरा गर्दै बजेट नीति तथा कार्यक्रम आउनुभन्दा १५ दिन अगावै  प्रिबजेटका बारेमा सदनमा छलफल गर्नु पर्ने नीतिगत व्यवस्था भए पनि महामारीका कारण छलफल गर्न नसकिएको जनाए । 

स्वास्थ्य संकट नलागेको अवस्थामा सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा नरहेको भन्दै मुख्यमन्त्री शेरधन राईले सरकारले सदनबाटै बजेट नीति तथा कार्यक्रम पास गर्ने बताए । ‘हामी अहिले पनि प्रदेश सभा सदस्यहरूको सुझावकै आधारमा बजेट नीति तथा कार्यक्रम बनाइरहेका छौँ’, उनले भने, ‘भर्चुअल बैठकबाट भए पनि प्रिबजेटका बारेमा छलफल गर्ने तयारीमा छौँ ।’ 

मुख्यमन्त्री शेरधन राईले कही दिन भित्रमै सरकारले संसद अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने बताए । यसका लागि सभामुखसँग छलफलमा रहेको बताउँदै उनले भने, ‘हामी नियम अनुसारै बजेट ल्याउने तयारीमा थियौँ । तर, कोभिड महामारीका कारण कानुनमा छ भन्दैमा भेला गर्दै हिँड्न पनि भएन ।’



अधिवेशनमा बोलाउनु पर्‍यो भन्नु विपक्षीको धर्म हो । मुख्यमन्त्री शेरधन राईले अहिलेको परिस्थिति भेला गर्दै हिँड्ने नभएको र यस बारेमा दलहरूलाई पनि राम्ररी थाहा भएको बताए ।

नियमावली संशोधन गरेर छोटो समयका लागि भए पनि सदनमै प्रिबजेटका बारेमा छलफल हुने मुख्यमन्त्री शेरधन राईले उल्लेख गरे ।



अहिले स्रोतको अनुगमन र खर्चको आधारमा मन्त्रालयहरूलाई बजेट सिलिङ तोकेर पठाएको र बजेट नीति तथा कार्यक्रम बनिरहेको मुख्यमन्त्री राईले जनाए ।

खोप किन्न बजेट 

प्रदेश-१ सरकारले कोरोना विरुद्धको खोप किन्न आवश्यक बजेट विनियोजन गर्ने  भएको छ । बजेट नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको प्रदेश सरकारले खोपका लागि बजेट छुट्याउने मुख्यमन्त्री राईले बताए ।

राईले प्रदेश सरकारलाई पनि खोप किन्ने अनुमति भएको भन्दै यसका लागि संघीय सरकार र  स्वास्थ्य मन्त्रायलसँग छलफल गरिरहेको बताए । 

राई भन्छन्, ‘हामी नागरिकलाई जतिसक्दो कोरोना विरुद्धको खोप लगाउन लागि परिरहेका छौँ । अहिले कोभिडबाट नागरिकलाई बचाउनु नै राज्यको दायित्व हो ।’

राईका अनुसार कोभिडबाट बचाउन धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउनु पर्ने भएकाले बजेट विनियोजन गर्न लागिएको छ ।

‘चार प्रकारका खोप प्रयोग गर्न सरकारले सिफारिस गरेको छ’, उनले भने, ‘हामी आवश्यक प्रक्रिया पूरा गरेर खोप खरिद गर्न चाहन्छौँ । खोप कति र कसरी ल्याउने भनेर आन्तरिक तयारीमा प्रदेश सरकार लागि परेको छ ।’

राईका अनुसार अहिलेको अवस्थामा अक्सिनज र भेन्टिलेटरभन्दा पनि खोप जरुरी रहेको छ ।

उनले निजी क्षेत्रले खोप ल्याउन अनुमति मागिरहेको प्रति आफू सकारात्मक भएको बताए । खुला बजारमा पैसा हुनेले किनेर पनि लगाउन पाउनु पर्छ । नहुनेलाई सरकारले व्यवस्था गर्नुपर्छ ।

निजी क्षेत्रलाई खोप ल्याउन अनुमति दिने नदिने अधिकार केन्द्र सरकारलाई भएको उनले स्पष्ट पारे । 

प्रदेश सरकराले सुरु गरेका योजनाको निरन्तरता  

अहिले धेरैभन्दा धेरै स्रोत संकलन गर्नुपर्ने बेला भए पनि माहामारीका कारण राजस्व संकलन गर्न नसकिएको उनले जनाए ।

आन्तरिक स्रोत सबै ठप्प भएकाले ठूलो आकारको बजेट बनाउन सक्ने अवस्था नरहेको उनले स्पष्ट पारे । स्रोतको सीमिततामा सरकार रहेकाले महत्त्वाकांक्षी बजेट ल्याउन नसक्ने मुख्यमन्त्री राईले बताए । 

‘हामी ठूला-ठूला योजनाको परिकल्पना गर्न सक्ने अवस्थामा छैनौँ, उनले भने, ‘हामी सानो तर आकर्षक बजेटको तयारीमा रहेका छौँ ।’

उनका अनुसार स्वास्थ्य शिक्षा र भौतिक पूर्वाधारमा यस वर्षको बजेटको प्राथमिकता रहेको छ । 

प्रदेश सरकारले प्राथमिकतामा राखेर सुरु गरेका योजनाले निरन्तरता पाउने मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले भने, ‘हामीले सुरु गरेका काम जतिसक्दो पूरा गरेर जनतालाई हस्तान्तरण गर्न लागि परेका छौँ । यसलाई पूरा गर्न सानो आकारको बजेट भए पनि बजेट विनियोजन गर्ने छौँ ।’

प्रदेश सरकारले घिनाघाट विराटचोक सडक, मुख्यमन्त्री ग्रामीण सडक आयोजना, मुन्धमु ट्रेल लगायतका योजनाहरू प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १३:४२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया