इराक विरुद्धको मैत्रीपूर्ण खेलमार्फत् नेपालको सिनियर टोलीका लागि डेब्यु गरेका मनीष डाँगीले पहिलो खेलमै गोल गरे ।
खेलको २९ औँ मिनेटमा सन्तोष तामाङको पासलाई सदुपयोग गर्दै मनीषले नेपाललाई २-१ को अग्रता दिलाएका थिए, तर खेल नेपालले ६-२ ले गुमायो ।
खेलपछि उनले डेब्यु खेलमा गोल गर्दा खुसी भए पनि हारले भने दुःखी बनेको बताए ।
‘इराक हामीभन्दा धेरै उत्कृष्ट टिम हो । उसँग राम्रो स्तरका खेलाडी छन् । उनीहरूविरुद्ध खेल्नु राम्रो अनुभव रह्यो’, मनीषले भने, ‘नतिजा हाम्रो पक्षमा आएन तर यो खेलबाट धेरै कुरा सिक्ने अवसर मिल्यो ।’
यु-१८ र १९ टिमकका लागि नेपालको जर्सी लगाइसकेका मनीष कोरियामा बसेर फुटबल खेल्दै आएका छन् ।
‘डेब्यु गोल गर्दा खुसी छु तर नतिजाले दुःखी बनाएको छ’, उनले थपे, ‘भविष्यमा अझै मिहिनेत गर्दै राम्रो प्रदर्शन गर्न चाहन्छु ।’
मनीष भर्खरै सम्पन्न नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीका लागि प्रभावशाली प्रदर्शन गर्दै प्रशिक्षक अब्दुल्लाह अलमुलाइरीको नजरमा परेका थिए ।
उनले ‘सी’ डिभिजन लिग खालीबारी युथ क्लब र मोफेसलका केही प्रतियोगिता थ्रि स्टारबाट पनि खेलेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।