प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत जेठ १० गतेदेखि पार्टीबाट निष्कासित नेता माधवकुमार नेपाल स्वार्थी भएको आरोप लगाएका छन्।
राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा आइतबार दिउँसो बोल्दै प्रधानमन्त्री ओलीले नेपाल समूहले देशविरुद्ध ठूलो अनिष्ट ल्याउने गरी काम गरिरहेको पनि बताएका छन्।
ओलीले एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परिसकेका नेता नेपालको जिन्दगी देखेर आफूलाई दया लाग्ने गरेको पनि बताएका छन्।
उनले भने, ‘तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरू हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ ।
‘तिनले खाएको सपथ झुटो हो, तिनको सपथ बेइमानी हो। तिनको सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको छ। तिनीहरुको जिन्दगी खेर गएको देखेर दया लाग्छ । त्यस्ता तत्वहरुले अहिले पनि घृणा फैलाउने काम गरिरहेका छन्', उनले भनेका छन्, 'तिनले देशका विरुद्ध ठूलो अनिष्टको काम गरिरहेका छन्।'
प्रधानमन्त्री ओलीले नेता नेपालले आफ्ना पार्टीका अध्यक्षविरुद्ध राष्ट्रपतिसमक्ष हस्ताक्षर पुर्याएको पनि बताए । उनले आफ्नो सरकारविरुद्ध अविश्वासको पक्षमा लाग्ने, फ्लोर क्रस गर्ने र संसदमा अनुपस्थित हुने जस्ता दलीय अनुशासन र संसदीय प्रणालीविरुद्ध लागेर नेपाल राजनीतिबाट च्युत भएको पनि बताएका छन्।
पार्टीबाट निष्कासित नेता नेपालप्रति इंगित गर्दै ओलीले नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको असर पर्नु स्वभाविक भएको बताए।
‘जब नेतृत्व तहबाट त्यस्ता काम हुन्छन्, तब उनीहरुलाई देखेर दया लाग्छ। त्यस्ता निर्दलीय कामबारे गर्वसाथ सम्माननीय राष्ट्रपतिसमक्ष पुगेर एक नेताले म यहाँ छु, म विरोधमा आएको छु भनेछन्', ओलीले भने, 'लाज सरम छैन? माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ? माथिबाटै धमिलो पानी बगाउने काम भएको छ। यसले चिन्ता बढाएको छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।