'बजेट कार्यान्वयन क्षमता छैन तर सरकार आकाशबाट जुनतारा झार्छु भन्दैछ'
सरकारले नागरिकमाथि झनै ऋणको बोझ थपेको जिकिर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयन हुनै नसक्ने  बताएको छ। नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेस संसदीय दलको निर्णयबारे सोमबार पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्। 

उनले कार्यान्वयन क्षमता नभएको सरकारले प्रचारमुखी बजेट ल्याएको पनि उल्लेख गरे। 'महत्वाकांक्षी बजेट ल्याएको सरकारसँग कार्यान्वयन क्षमता छैन। तर सरकारले आकाशका जुनतारा झार्छु भन्दैछ', उनले भने, 'यो सरकारले अहिलेसम्म कुनै वर्ष पनि राजश्व ८ सय अर्ब पुर्‍याएको छैन। १ हजार १५२ अर्ब राजस्व संकलन हुनै सक्दैन।'

नेता रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रमको खेती गर्ने उद्धेश्यका साथ बजेट ल्याएको बताए। 'भ्रमको खेती गर्ने उद्धेश्यका साथ बजेटमा प्रस्तुत गरिएको छ। सरकारका कुनै पनि निर्णय कार्यान्वयन हुन सक्दैनन्', उनले दलको विज्ञप्ति बाचन गर्दै भने, 'कोभिडको संक्रमणबाट जनतालाई राहत दिनु आवश्यक छ। कोरोनाको पहिलो लहरले १२ लाख नेपालीलाई गरिबीको रेखामुनि धकेलेको थियो। कोरोनाको क्षति अझै भयावह हुने जोखिम छ। अघिल्लो वर्षभन्दा लामो जाने अवस्था छ दोस्रो लहर।'

कांग्रेसले बहिर्गमन हुन लाग्दा पनि सरकारको अहंकार नहटेको ठहर गरेको छ। 'बहिर्गमन हुन लाग्दा पनि सरकारको अहंकार अझै हटेको छैन, अझै पनि चेतेको छैन', रिजालले भने, 'प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाउने भनेको चार महिना बित्दा पनि २ लाख ६० हजारले मात्रै खोप लगाउन पाएका छन्।'

उनले कोरोना खोप सबै नेपालीलाई लगाउन नसकिने टिप्पणी सरकारकै मन्त्रीहरुले गरिरहेको बताए। 'सरकारकै मन्त्री र अधिकारीहरु बिनाकुनै संकोच खोप लगाउन सकिँदैन भन्दैछन्', उनले भने, 'जतासुकै पत्र पठाउँदैमा खोप मिल्छ भन्नु सरकारको अर्को गफ हो।'

बजेट किताबमा पैसा छुट्याएर मात्रै केही नहुने कांग्रेसको टिप्पणी छ। 'सरकारको लापरबाहीले गत वर्ष देशले ठूलो क्षति भोग्नुपर्यो। कार्यान्वयनमा रहेका फेहरिस्तलाई दोहोर्‍याएर निकै पो काम हुन थालेछ भनेर भ्रम छर्न थालिएको छ', कांग्रेसले भनेको छ, 'भर्खरै निर्वाचन जितेर आएको सरकारले जस्तो गरिरहेको छ। प्रत्येक नागरिकमाथिको ऋण ५५ हजार पुगेको छ। खर्च गर्ने लक्ष्य महत्वाकांक्षी छ। यो कार्यान्वय नभएर देशलाई झन् ठूलो भार पर्छ।'



भिडियो



  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १४:५२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया