सरकारमा जाँदै जसपा, गृहबाहेक तत्काल ६ वटा मन्त्रालय सम्हाल्ने
बालुवाटारमा वार्ता, गृहमन्त्रालय प्रधामन्त्री आफैंले राख्ने

प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्। आज बालुवाटारमा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई बोलाएर सरकारमा आउन भनेका हुन्। 

एमालेका उपनेता सुवास नेम्वाङसहित उपस्थित भएर भएको वार्ताका क्रममा ओलीले दुई नेतालाई तत्काल सरकारमा आउन भनेका हुन्। संविधानको धारा ७६ उपधारा ५ अनुसार ओलीलाई समर्थन जनाएका ठाकुर-महतोले मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउन नसक्दा सरकारमा जान ढिलाइ भएको स्रोतले जनाएको छ।

आज बालुवाटारमा भएको वार्तामा ओलीले गृहमन्त्रालय आफैंले राखेर अन्य ६ वटा मन्त्रालय दिन तयार रहेको बताएका हुन्। यसअघि सातवटा मन्त्रालय माओवादीबाट एमालेमा आएका नेताहरुले लिएका थिए।

सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई सांसदमा कायम नरहेको भन्दै तत्काल मन्त्रीका रुपमा काम नगर्न नगराउन आदेश दिएको थियो।

त्यसपछि खाली रहेका यी सात मन्त्रालयमा ६ वटा ओलीले जसपालाई दिने योजना बनाएका हुन्। चुनावको तयारीमा रहेकाले ओलीले गृह भने आफैंले राख्ने योजना अनुसार यसबारे ठाकुर-महतोलाई जानकारी गराइसकेका छन्। एमाले उपनेता सुवास नेम्बाङले जसपा सरकारमा आउन तयार रहे पनि अझै केही दिन लाग्न सक्ने बताए। 

आकांक्षीले विवाद



जसपाको ठाकुर-महतो समूह आजै ओली सरकारमा जाने तयारीमा थियो। तर आकांक्षीहरु धेरै भएकाले ठाकुर-महतोलाई अफ्ठ्यारो परेको छ। धेरै आकांक्षी र पूर्व पार्टी समूहबाट व्यवस्थापनको चुनौती दुई नेतालाई परेको छ।

जसपाबाट संसदीय दलका नेता राजेन्द्र महतोले सरकारको नेतृत्व गर्नेछन्। त्यस्तै मन्त्रीका रुपमा शरतसिंह भण्डारी, राजकिशोर यादव, उमाशंकर अरगरिया, चन्दा चौधरी र प्रमोद साहको नाम चर्चामा छ।



अध्यक्ष ठाकुरले आफूनिकट दुईजनालाई मन्त्री बनाउने तयारी गरेका छन्। तर आकांक्षी धेरै हुँदा उनी अनिर्णयको बन्दी बनेका छन्। स्रोतका अनुसार बढीमा दुई दिनभित्र मन्त्रीको नाम टुङ्ग्याएर जसपा सरकारमा जानेछ।

जसपमा पूर्व तमलोपा समूहबाट केदारनन्द चौधरी, सर्वेन्द्रनाथ शुक्ला र चन्दा चौधरीको नाम मन्त्रीको चर्चामा छ। महिला जाने भएमा चन्दा चौधरी मन्त्रीमा पक्का जस्तै छिन। चन्दा नगएमा राजकिशोर यादव मन्त्री हुन सक्छन्। 

  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १५:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया