कोभिसिल्डको दोस्रो मात्रा लगाउन ढिला भए के हुन्छ ?

नेपालमा पहिलोपटक गत माघ ६ गतेबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरियो । काठमाडौं उपत्यकाबाट पहिलो चरणको खोप कार्यक्रम सुरु भएको थियो । नेपालमा खोप लगाउन सुरु गरेको १२ हप्ता पार भइसकेको छ । पहिलो चरणमा खोप लगाएका केहीले दोस्रो चरणको खोप पनि लगाइसकेका छन् भने साढे १३ लाख जनसंख्याले अझै दोस्रो चरणको खोप पाएका छैनन् । 

भारतको सेरम कम्पनीबाट आएको खोप लगाएका उनीहरुले सोही कम्पनीको खोप लगाउन पाउने कि नपाउने अन्योल छ । सो कम्पनीले यस वर्षको डिसेम्बरअघि खोप पठाउन नसक्ने जानकारी दिइसकेको छ । एउटा कम्पनीको खोप लगाएका मानिसले अर्को कम्पनीको खोप लगाउन मिल्ने कि नमिल्ने भन्नेबारे भरपर्दो जानकारी पनि आएको छैन । 

दोस्रो खोपका लागि १६ हप्तासम्म

अनुसन्धानकर्ता तथा विज्ञले दोस्रो चरणको खोप पहिलो खोप लगाएको १२ देखि १६ हप्तामा लगाए खोप प्रभावकारी हुने बताएका छन् । कहिलेसम्मको समयलाई उपयुक्त मान्ने भन्ने निश्चित नभएको, तर खोपले ८ देखि १६ हप्तासम्मको समयमा लगाउँदा खोपको प्रभावकारिता बढ्ने विज्ञहरु बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ शेरबहादुर पुन भन्छन्, ‘१२ हप्तादेखि १६ हप्ताभित्र लगाउँदा खोपको प्रभावकारिता बढ्ने बताइएको छ । तर, खोपको पहिलो चरण र दोस्रो चरणको अन्तर कति हुने भन्ने वास्तविक तथ्य भने छैन ।’ उनका अनुसार अन्य देशमा पनि १६ हप्ताभित्र दोस्रो डोज लगाउने गरिएको छ ।  

कति समयसम्म खोपको मात्रा पूरा गर्दा बढी प्रभावकारी भन्ने निश्चित समयावधि नभएकाले खोपको प्रभावकारिताको मापन भने गर्न गाह्रो रहेको उनले बताए । उनी भन्छन्, ‘दुई–चार हप्ता ढिलो हुँदा केही फरक पर्दैन भन्ने थाहा पाइयो, तर निश्चित कति हप्ता भन्ने प्रस्ट उत्तर भने छैन । १६ हप्तासम्म अन्य देशहरुले लगाइरहेका छन् ।’ त्यो समयसीमा तोकिनुको केही न केही कारण रहेको हुनुपर्ने उनले बताए । १६ हप्तापछि खोप लगाएमा के हुन्छ वा कत्तिको उपयुक्त हुन्छ भन्ने चाहिँ भन्न गाह्रो रहेको उनले बताए ।  



समयमै दोस्रो डोज खोप नलगाए त्यसको प्रभावकारिता नहुने आशंका बढिरहेको छ । तर, खोप कहिले आइपुग्छ भन्ने कुरा सरकारलाई नै थाहा छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘खोप जतिसक्दो छिटो ल्याउने प्रयासमा छौँ । तर, केही प्राविधिक तथा कुटनीतिक कारणहरूले रकम भुक्तानी भइसकेको कम्पनीबाट पनि खोप आयात हुन नसक्दा समस्या आएको हो ।’

नेपाल सरकार खोप आयातमा निरन्तर लागिपरेको उनले बताएका छन् । उनी भन्छन्, ‘हामीले पनि सबैलाई ८ देखि १२ हप्ता भित्रमा खोप वितरण गर्ने योजनामा रहेका थियौँ । तर, भारतबाट ल्याउने भनिएको १० लाख खोप नआएकाले समस्या परेको हो ।’ पछिल्लो समय भारतले २०२१ भित्रमा खोप निर्यात गर्न नसक्ने भनेपछि नेपाल सरकारलाई खोप आयातमा समस्या भएको उनले बताएका छन् । 



पहिलो खोप लगाएका ज्येष्ठ नागरिक अन्योलमा

पहिलो चरणको खोप लगाइसकेका ज्येष्ठ नागरिकमा दोस्रो चरणको खोप कहिले पुग्ने भन्ने टुङ्गो छैन । पहिलो लहरको कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेका ज्येष्ठ नागरिकलाई पहिलो चरणमा कोभिसिल्ड लगाइएको थियो ।

भारतबाट कोभिसिल्ड आयातमा समस्या भएपछि ज्येष्ठ नागरिक तथा अन्य फ्रन्टलाइनरले दोस्रो चरणको खोप कहिले पाउने टुङ्गो छैन । प्रवक्ता पौडेल भन्छन्, ‘खोप नै आइ नपुगी कहिले दिने भन्न गाह्रो छ । पहिलो चरणको खोपले ४० प्रतिशत प्रतिरक्षा क्षमता बढाउने भन्ने हो ।’ उनी भन्छन्, ‘बाँकी दोस्रो चरणले प्रतिरक्षा क्षमतामा वृद्धि गर्ने हो, खोपको मात्रा धेरै ढिलो भयो भने के गर्ने भन्ने निर्णयका लागि हाम्रो खोप सल्लाहकार समिति छ, त्यसले केही आवश्यक निर्णय लिनेछ ।’  

कोभिसिल्ड बनाउने अन्य राष्ट्रसँग पनि समन्वय भइरहेको उनले बताए । ‘बेलायतकी महारानीसँग सम्माननीय राष्ट्रपतिबाट छिट्टै खोप ल्याउन पहल भइरहेको छ,’ उनले भने ।  

भारतबाट खोप आयातमा समस्या हुँदा समयमा दोस्रो चरणको कोभिसिल्ड वितरणमा समस्या भएको छ । भारतको एकलौटी भर पर्दा सरकारलाई अहिले खोप वितरणमा समस्या भएको छ । खोपका लागि राष्ट्रपति स्वयं लागि परेकाले खोप आयातमा सहजीकरण हुनसक्ने मन्त्रालयका प्रवक्ता पौडेलको विश्वास छ ।

रुसबाट स्पुतनिक–भी खोप ल्याउने प्रयास पनि जारी रहेको डाक्टर पौडेलले जानकारी दिएका छन् । खोप आयातमा केही कूटनीतिक तथा प्राविधिक समस्याका कारण यो प्रक्रिया अघि बढ्न समस्या परेको उनले बताए । कस्तो कूटनीतिक समस्या भन्नेबारे भने उनले खुलाएनन् । 

  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १६:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया