३० अर्ब बढी बजेट ल्याउने कर्णाली सरकारको तयारी
चालू आवको तुलनामा ३ अर्ब कम

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि झण्डै ३० अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्ष २०७७/०७८ मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि झण्डै ३ अर्ब कम बजेट ल्याउने तयारी गरेको हो ।
 
बजेटको तयारीका लागि विषयगत मन्त्रालयमा बजेट सिलिङ पुगेर छलफल भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चक्रबहादुर बुढाले जानकारी दिए । बुढाले आगामी आर्थिक वर्षको लागि केन्द्र सरकारबाट अनुदान १७ अर्ब मात्रै आएको, राजस्व पनि तुलनात्मक रूपमा कम उठेका कारण बजेट घटाएर ल्याउनुपर्ने बाध्यता रहेको बताए । बजेट चालु आर्थिक वर्षजस्तै कोरोना नियन्त्रणमा केन्द्रित हुने उनको भनाइ छ । त्यो बाहेक अन्य स्वास्थ्य क्षेत्र, रोजगारी, विकास निर्माणका काममा केन्द्रित हुने पनि उनले जानकारी दिएका छन् । 

प्रि-बजेट छलफलबिनै बजेट ल्याउने तयारी

कोरोना भाइरसका कारण प्रदेश सरकारले प्रि-बजेट छलफलबिना नै ल्याउने तयारी गरेको छ । कोरोनाका कारण छलफल गर्ने अवस्था नभएकाले छलफल बिनै बजेट ल्याउने तयारी रहेको सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीले बताइन् । प्रदेश सरकारले जेठ पहिलो सातादेखि बजेट अधिवेशन सुरु गर्ने तयारी गरेको थियो । तर कोरोनाको अवस्था भयावह बनेपछि बैठक सुरु हुन सकेको छैन । 

बजेट अधिवेशन बोलाउन एमालेको माग

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल प्रदेश सभाको बजेट अधिवेशन बोलाउन माग गरेको छ । एमाले संसदीय दलको आइतबार सम्पन्न बैठकले अधिवेशन आव्हान गर्न माग गरेको हो । 

प्रदेशसभा नियमावलीको परिच्छेद १७ को नियम १३२ को दुई बमोजिम बजेट ल्याउनुपूर्व १५ दिन अघि नै विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धमा छलफलका लागि संसदमा प्रस्ताव गर्नुपर्ने र त्यो छलफल १५ दिन पहिले नै सम्पन्न गर्ने व्यवस्था रहेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । कानुनले नै स्पष्ट कार्यतालिका निर्देशन गरेता पनि जेष्ठ १७ गतेसम्म छलफलका लागि कर्णाली सरकारबाट बजेट अधिवेशन आव्हान नभएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १७:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया