कोरोना परीक्षण घटेको कि घटाइएको ?

कोरोना भाइरसको परीक्षण पिसिआर टेस्ट तथा एन्टिजेन टेस्ट पछिल्लो साता घट्दै गएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अपडेट हेर्दा दैनिक परीक्षणको दायरा खुम्चिँदै गएको पाइन्छ । 

पछिल्लो २४ घण्टामा कोरोना परीक्षण १७ हजार ४८० मा गरिएको छ । पछिल्लो २४ घण्टाको रेकर्ड हेर्ने हो भने १५ हजार ५५ जनामा पिसिआर टेस्ट तथा २ हजार ४२५ जनाले एन्टिजेन टेस्टद्वारा कोरोना परीक्षण गराएका थिए । 

जसमा ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । गत मंगलबार २२ हजार ९३६ जनामा कोरोना परीक्षण गरिएको थियो भने हाल १७ हजारको हाराहारीमा परीक्षण गरिएको छ ।

सरकार तथा सम्बन्धित निकायले परीक्षण किन घटायो ? अथवा स्वतः घटेको हो, भन्ने कुरा हाल चासोको विषय बनेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डाक्टर शेरबहादुर पुन भने परीक्षण घटाएको भन्दा पनि मानिसहरू नै कम परीक्षणको दायरामा आएको बताउँछन् । 

उनी भन्छन्, ‘अहिले परीक्षणको दायरा घटाइएको भन्दा पनि मानिसहरू परीक्षण गर्न कम आइरहेको पाइन्छ । अहिले म आफैं परीक्षण क्षेत्रमा जाँदा पनि मानिसहरू कम आएका छन् ।’ उनका अनुसार गाउँघरतिर संक्रमण फैलिएको आफूलाई तथ्य जानकारी नभएको तर काठमाडौं उपत्यकामा भने परीक्षणको दायरा सम्बन्धित निकायबाट खुम्च्याइएको भन्दा पनि मानिसहरू नै परीक्षण गर्न कम आएको पाइएको उनको भनाइ छ । 



‘मानिसहरू नै कम परीक्षण दायरामा आएका कारण परीक्षण घटेको आँकडा निस्किएको हो’, उनले भने । 

परीक्षण किट तथा परीक्षणको दायरा भने कम नभएको उनको भनाइ छ । 



पहिलो लहरमा सरकारले कन्ट्रयाक्टट्रेसिङ गर्ने, फोन गरेर वडा वडामा परीक्षणको व्यवस्था मिलाइएको थियो । भने यस दोस्रो लहरको भने सुरुवाती चरणबाट नै कन्ट्रयाक्टट्रेसिङ तथा परीक्षणमा कडाइ भएन । यस लहरमा जति पनि मानिस परीक्षणको दायरामा आए उनीहरू सबै लक्षण देखा परेर आफैं परीक्षण गर्न आएको चिकित्सकहरू बताउँछन् ।

चिकित्सकको भनाइअनुसार पहिलो लहरमा जस्तो यस लहरमा परीक्षणको दायरा घटाएको भने नरहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।

काठमाडौं उपत्यकामा मात्र सीमित रहेर संक्रमण घटेको अथवा बढेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । नेपालका सम्पूर्ण क्षेत्रका डाटालाई अनुगमन गरेर मात्र यसको निष्कर्षमा पुग्न सकिने उनले बताएका छन् ।

  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १५:२७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया