थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै विवेकशील साझाले भन्यो : उनको मार्ग पछ्याइरहनेछौँ

विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ४ः२५ बजे निधन भएको हो।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको जनाएको छ । 

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।’

थापाले अङ्गालेको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टीले अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने विज्ञप्तिमा जनाइएको छ । 

थापाको परिवारजनमा समवेदना व्यक्त गर्दै मिश्रले थापाको उपचारका क्रममा उनको स्वास्थ्यलाभको कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि आभार व्यक्त गरेका छन् । 



थापाको निधनपछि बसेको बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३औँ दिनको पुण्य तिथिमा आफ्ना प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षारोपण गर्न आह्वान गरेको छ। यही बीचमा पार्टीमा ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । 



  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १८:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया