देश र जनताको मुहारमा उज्यालो ल्याउन जीवनभर सक्रिय ‘उज्जवल थापा’ अस्पतालको बेडमा ‘धिपधिप’ गर्दागर्दै अस्ताए। कोरोना भाइरस संक्रमणबाट मंगलबार दिउँसो ४:२५ मा उनको निधन भएको छ। उनको निधनसँगै नेपाली राजनीतिलाई सङ्लो बनाउने एउटा आशाको दियो पनि निभेको छ।
राजनीतिको वैकल्पिक शक्ति खडा गरेर छोटो समयमै प्रभाव देखाएका थापा युवामाझ लोकप्रिय थिए। उनी गम्भीर बिरामी भएर अस्पतालमा उपचाररत रहँदा देशभित्र र बाहिरका शुभेच्छुकले गहिरो सद्भाव प्रकट गरे।
उनको उपचारका लागि शुभेच्छुकले धक फुकाएर विभिन्न माध्यमबाट सहयोग गरे। भेन्टिलेटरसँगै अत्याधुनिक उपकरणमा राखेर उपचार गर्नुपर्ने भएपछि २४ घण्टामै उनका लागि ५० लाखभन्दा बढी रकम जुटेको थियो।
तर लाखौँ शुभेच्छुकलाई स्तब्ध बनाउँदै उज्जवल कतै विलीन भए। कोरोना महामारीसँगको लडाइँमा उज्ज्वल हारे तर राजनीतिक इमानको दियो सधैँका लागि बालेर बिदा भए।
सडक प्रदर्शन र आन्दोलनलाई रचनात्मक तरिकाले अगाडि बढाएकै कारण उनी युवाहरुमाझ छाएका थिए। वैकल्पिक राजनीतिको सुरुवातकर्ता उनलाई अब धेरैले सम्झनेछन्।
उनले आफ्नो पार्टी र अभियानमा धेरै युवाहरुमाझ पुर्याए। शिक्षित युवाहरुलाई राजनीतिमा जोडे, सरकारका गलत कार्यविरुद्ध औँला उठाउन युवाहरुलाई सिकाए। वैकल्पिक राजनीतिक बलियो जग बस्न नपाउँदै भएको उज्ज्वलको यात्राले धेरैको मन रोएको छ, उनलाई पछ्याइरहेका लाखौँ युवाहरुलाई चोट लागेको छ।
जनताको चिन्ता गर्दागर्दै अस्ताए
धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना हुनुअघि थापाले प्लेकार्डमा लेखेका थिए, ‘पहिले जनता बचाऊ। सरकार बचाउन जनता आफैं लागिपर्ने छन्।’
कोरोना संक्रमणकै कारण दैनिक सयौं नेपालीले ज्यान गुमाउन थालेपछि थापाले सरकारसमक्ष जनताको ज्यान बचाउन यस्तो अपील गरेका थिए। कोरोनाबाट जनता जोगाउन सरकारलाई खबरदारी गर्दा गर्दै एउटा आशाको दीप आफैं निभ्यो, एउटा असल राजनीतिज्ञले ४४ वर्षको उमेरमै भौतिक शरीर त्याग्यो।
विद्रोही स्वभाव
काठमाडौंमा स्कुले जीवन बिताएका उज्ज्वल सानैदेखि विद्रोही स्वभावका थिए। उनलाई साथीहरुले यही रुपमा चिन्थे।
उनी भौतिकवादी जीवनबाट वाक्क भएको भन्दै २१ वर्षमै बौद्धधर्मी भिक्षु बनेर पनि हिँडेका थिए। स्कुले जीवनपछि छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान विषय पढ्न उनी अमेरिका पुगेका थिए।
खगोल तथा भौतिक विज्ञान पढ्न अमेरिका गएका उनी अन्तिममा वेबसाइट डिजाइनरको परिचय बोकेर नेपाल फर्किएका थिए। कुनै समय भिक्षु बनेर एक्लै बस्छु भन्दै हिँडेका उज्जवल पछिल्लो समय हजारौँ युवालाई एउटै सञ्जालभित्र जोड्न लागिपरेका थिए। युवाहरुलाई राजनीतिमा जोड्दै सरकारप्रति औँला उठाउन सिकाउँदा सिकाउँदै उज्जवल बीच बाटोमै नफर्किने गरी विलीन भएका छन्।
आन्दोलनको स्वरुप बदल्ने प्रयास
नेपालमा हुने राजनीतिक आन्दोलनको परिचय फरक छ। सँगसँगै राजनीतिज्ञहरूप्रति पनि आम जनताको नजर उत्कृष्ट छैन। नेपालमा जसले सडकको रेलिङ भाँच्यो, तोडफोड गर्यो, प्रहरीमाथि ढुंगा हान्यो, उसैलाई धेरैले नेता मान्थे। जनआन्दोलनअघिदेखि स्थापित यो मान्यता अहिले पनि राजनीतिक वृत्तमा उतिकै देखिन्छ।
तर, उज्ज्वल भने यस मानकलाई चिर्न सधैँ जुटिरहे। आन्दोलनलाई सधैँ मर्यादित बनाउनुपर्ने विचार बोकेका उनी कहिल्यै हिंसा र तोडफोडको बाटोमा लागेनन्। आन्दोलनका लागि हजारौँ, लाखौँ मानिस चाहिने नेपाली राजनीतिक अभ्यासलाई उनी एक्लै माइतीघर मण्डलमा उभिएर चुनौती दिए।
सरकारप्रति खबरदारी गरिएका नारासहितका पर्चा र पोस्टर छातीमा टाँसेर उनी एक्लै काठमाडौंका सडक पेटीमा उभिन्थे। अनि उनलाई साथ दिने युवा पंक्तिहरु हातेमालो गर्न आइपुग्थे।
उनले कुनै पनि ठाउँका आन्दोलनमा कहिल्यै तोडफोड र हिंसालाई प्राथमिकता दिएनन्। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल भन्छन्, 'समग्र नेपाली राजनीतिलाई सच्याउने अभियानको नेतृत्व उज्वलजीले गर्नुभएको थियो। फरक पार्टीमा रहे पनि उस्तै विचार र कार्यशैली भएको असल मित्रलाई आज गुमाउनुपरेको छ।’
उतारचढाव
पहिलो संविधानसभाको म्याद गुज्रिँदै थियो। तर, संविधान जारी हुन सकेको थिएन। त्यसबेला उज्ज्वलसहितको समूहले 'नेपाल युनाइटस्' नामक नागरिक अभियान सुरु गर्यो।
उनीहरु ‘ज्याला पुरा लियौ, अब संविधान देऊ’ नारासहित नयाँबानेश्वरस्थित संविधानसभा भवनअघि उभिएर दबाब सिर्जना गरिरहन्थे।
नेपाल बन्दविरुद्ध ‘नेपाल खुला छ’अभियान, महिला हिंसाविरुद्धका अभियान र प्राध्यापक डाक्टर गोविन्द केसी अनसनमा बस्दा उनको पक्षमा गरिने अनेक प्रदर्शनमा उनी जोडिन्थे। कतिपय अवस्थामा उनी एक्लै सडक पेटीमा उभिएर रचनात्मक प्रदर्शन पनि गर्थे।
संविधान जारी हुन नसकेको सकसपूर्ण अवस्थाका बेला उनले आफ्नो भूमिकालाई बढाएका थिए। दोस्रो संविधानसभासम्म आइपुग्दा उनीसँग जोडिएकामध्ये ४ जनाले काठमाडौंका चार क्षेत्रबाट उम्मेदवारी दिएका थिए।
निर्वाचन
दोस्रो संविधानसभाको निर्वाचन भएको केही महिनापछि अर्थात् २०७१ जेठ २९ गते उनकै नेतृत्वमा विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता भयो। पार्टीले २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भाग लिए पनि विवेकशीलले सफलता पाउन सकेन।
त्यतिबेला पार्टी गठन भइनसकेकाले उनीहरुले स्वतन्त्र उम्मेदवारी दिए। त्यसपछि २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उज्ज्वल विवेकशील साझाको तर्फबाट काठमाडौं ५ मा उम्मेदवार भए। विजयी ईश्वर पोखरेलले २३०२९ मत ल्याउँदा तेस्रो भएका उनले ६८५३ मत ल्याए।
पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवीन्द्र मिश्र लगायतले बनाएको साझा पार्टीसँग उज्ज्वलले एकता गरे। २०७४ साउन ११ गते एकता भएर विवेकशील-साझा पार्टी गठन भयो।
त्यतिबेलाको एकता लामो समय टिक्न सकेन। पूर्व विवेकशील पक्ष २०७५ पुस २७ गते एकीकृत पार्टीबाट अलग भएको थियो। त्यस पार्टीले २०७६ सालमा महाधिवेशन सम्पन्न गर्यो। तर, त्यसबेला ४१ वर्षमा रहेका थापाले कुनै पदमा पनि उम्मेदवारी दिएनन्। त्यसपछि उनी नेतृत्वबाट बाहिर थिए।
विभाजित विवेकशील र साझा पार्टी पुनः २०७७ मंसिर २४ गते एक भए। विवेकशील र साझाको एकता १७ महिना पनि टिक्न सकेन। २०७५ पुस २७ गते थापासहितको समूह पुरानै विवेकशील नेपाली दलमा फर्किए। त्यसबेला थापाले वैचारिक विमति राख्दै पार्टीमा निषेधको राजनीतिका कारण अलग हुनुपरेको बताएका थिए। त्यसयता उनी राजनीतिमा सक्रिय थिएनन्।
भिक्षु बन्ने सोच
जिन्दगीदेखि वाक्क भएर भिक्षु बनेका उनी अन्ततः राजनीतिज्ञको परिचय स्थापित गरेर बिदा भए। ‘जिन्दगीदेखि वाक्क भएर भिक्षु बन्छु सोचेको थिएँ तर उद्यमी बन्न पुगेँ', उनले आफ्नो ब्लगमा पनि लेखेका छन्, 'अरुसँग टाढा र एक्लै बस्न रुचाउने म, अहिले हजारौँलाई एउटै सामूहिक सञ्जालमा ल्याउँदैमा व्यस्त छु।’
युवाहरुलाई संगठित गर्ने अभियानमा लागेका उज्ज्वलले पछिल्लो समय सक्रिय राजनीतिबाट विश्राम लिने बताइरहेका थिए। गत मंसिरमा विवेकशील र साझा पार्टीबीच फेरि एकता हुँदा उनी दृश्यमा देखिएका थिएनन्।
राजनीतिक दृश्यदेखि केही समय ओझेलमा रहेका उनलाई कोरोनाको दोस्रो लहरको महामारीले समात्यो। सुरुमा ह्याम्स हुँदै ग्राण्डीबाट जेठ १४ मा ललितपुरको मेडिसिटी लगिएका उनले कोरोनालाई जितेको भोलिपल्टै जिन्दगी हार्न पुगे। अलविदा उज्ज्वल !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।