सत्तारुढ नेकपा एमालेको बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजन सिलिन्डर खरिद गरेको छ । नगर कमिटीले अक्सिजन भरिएको सिलिन्डर खरिद गरेको हो ।
नगर कमिटी कोरोना संक्रमित बिरामीलाई अक्सिजनको अभाव हुन नदिनका लागि एभरेष्ट ग्यास उद्योग काठमाडौंबाट खरिद गरी झापा पुर्याएको हो ।
विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट नगर कमिटीले अक्सिजन सिलिन्डर खरिद गरेको जनाएको छ । नगर अस्पतालका लागि पार्टीले अक्सिजन सिलिन्डर सहयोग गर्नका लागि खरिद गरिएको बताइएको छ ।
बिर्तामोड नगर अस्पतालमा अक्सिजन अभाव देखिएपछि नगर कमिटीले सहयोग सङ्कलन अभियान नै चलाएर १५ लाख रकम सङ्कलन गरेको थियो । सोही रकमबाट अक्सिजन खरिद भएको हो ।
नगर कमिटीले प्रतिसिलिन्डर १६ हजारका दरले अक्सिजन सिलिन्डर खरिद गरेको हो । उठेको रकमबाट ५० थान अक्सिजन सिलिन्डर खरिद गरिएको र ६ लाख ५० हजार रुपैयाँ बचत रहेको नगर कमिटीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।