नेकपा एमालेका नेता एवम् प्रदेश १ का सदस्य राजेन्द्रकुमार राईले अहिलेकै अवस्थामा पार्टी एकताको नाममा वार्ता गर्नुको औचित्य नरहेको बताएका छन्। एमाले बचाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय भइरहेका बेला पार्टीबाट निष्कासित माधवकुमार नेपालनिकट राईले नयाँ परिस्थित विकास नभएसम्म अब वार्ताको कुनै औचित्य नहुने बताएका हुन्।
उनले यदि वार्ता चाहिएको हो भने सहमतिको खाका निर्माण गर्दै जानुपर्नेमा जोड दिए। तर ओलीले अहिले सहमतिको वातावरण बन्दै गर्दा एकपछि अर्को कारबाहीको डण्डा चलाएको जिकिर गरेका छन्।
'वार्ता चाहिएको हो भने सहमतिको खाका निर्माण गरिँदै गर्दा फेरि एकपछि अर्को गर्दै कारबाहीको डण्डा किन चलाउनु?', उनले भनेका छन्, 'खुदै वार्ता टोलीका शीर्ष सदस्य (भीमबहादुर रावल) लाई समेत कारबाही किन गर्नु? एकता चाहने हो भने बरु गरिएका कारवाही फुकुवा गर्दै पो जानु पर्छ त!'
नेता राईले अनेक दबाबसँग जुधेर कठिन परिस्थितिमा माधव नेपालको पक्षमा लागेका सांसदहरुलाई कारबाही गरिएको भन्दै आक्रोश पोखेका छन्। 'वार्ता आरम्भपछि आफ्ना शीर्ष नेताहरुसहित अनेक दबाबसँग जुझेर अति कठिन परिस्थितिमा पछि लागेका सांसदहरुलाई र वार्ता टोलीका शीर्ष नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ', उनले गुनासो गर्दै भने, 'कारबाही गर्ने नियतले वार्ता टोलीका अन्य २ सदस्यलाई स्पष्टीकरण सोध्ने र विभिन्न प्रदेशका सांसदहरुलाई कारबाही प्रक्रिया आरम्भ गरिएको अवस्थामा कुन मुख लिएर वार्ता गर्न सकिन्छ?'
अहिले ओलीले गरिरहेको वार्तालाई उनले अनधिकृत र व्यक्ति भनेका छन्। 'त्यसैले यथा अवस्थाको वार्ता अनधिकृत वा व्यक्तिगत मात्र हो, यो वार्ता निर्लज्ज प्रकृतिको छ', उनले थपेका छन्, 'साँच्चै आधिकारिक वार्ता गर्ने हो भने नयाँ परिस्थिति निर्माण गरी वार्ताकै लागि पनि नयाँ सहमति जरुरी छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।