ज्येष्ठ नागरिकलाई जेठ २५ देखि खोप दिइने
सांकेतिक तस्बिर

चीनबाट मंगलबार ९ लाख खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी गरेको छ । 

सरकारले यही जेठ २५ गतेदेखि कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार चीनबाट ९ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र बुधबार थप १ लाख मात्रा तिब्बत सरकारबाट आउन थालेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिनअघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा खोप उपलब्ध गराएको हो । प्रवक्ता डा. पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताए । उनले ज्येष्ठ नागरिकसँगै चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका लाई पनि खोप दिइने जानकारी दिए । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करिब ८ लाख जनसङ्ख्या रहेको छ । 

मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ । नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा ७ लाख १४ हजार १६३ लगाएका छन् । अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरिद गरेर १० लाख मात्रा, चीनबाट यसअघि ८ लाख र कोभ्याक्स सुविधामार्फत् ३ लाख ४८ हजार खोप आएको छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १४:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया