कोरोना भाइरसको दोस्रो लहरले देश आक्रान्त छ । संक्रमण फैलिँदै गएपछि वैशाख १६ गतेबाट काठमाडौं लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरियो ।
निषेधाज्ञाको घोषणाले केही खेलाडी काठमाडौमा नै थुनिए । केही खेलाडी भने आफ्नो गृह जिल्लामा छन् । काठमाडौंमा रहेका खेलाडी हुन् वा बाहिर, सबै खेलाडीले फिटनेसको ख्याल राखेकै छन् ।
निषेधाज्ञा सकिने बित्तिकै हुने खेलका लागि आफूहरू तयार रहनु पर्ने भएकाले पनि त्यसमा ध्यान दिनुपरेको उनीहरू बताउँछन् ।
रुविना क्षेत्री
फिटनेसको एकदमै ख्याल राख्ने खेलाडी हुन्, रुविना क्षेत्री । उनी अहिले झापामा छिन् । घरमा रहे पनि शारीरिक तन्दुरुस्तीका लागि उनी दिनदिनै अभ्यासमा रहन्छिन् । खेलाडी भइसकेपछि त्यसमा ध्यान दिनु जरुरी रहेको उनी बताउँछिन् । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविनाले आफूसँगै खेल्ने अन्य खेलाडीलाई पनि फिटनेसको सुझाव दिने गरेकी छन् ।
उनी भन्छिन्, ‘अहिले सबैले फिटनेसमा ध्यान दिनु जरुरी छ । यो अवस्था सधैं रहिरहँदैन । यो महामारी रोकिने बित्तिकै खेलकुद कार्यक्रम सञ्चालन हुन्छन् ।’ खेलाडी भइसकेपछि फिटनेस अपरिहार्य रहेको उनले बताइन् ।
उनले हाल महिला टोलीबाट खेल्ने अन्य खेलाडीलाई घरमा जति सम्भव छ त्यति फिटनेसमा ध्यान दिन अनुरोध गर्दै आएकी छन् । आफैं पनि फेसबुक तथा इन्स्टाग्राममा कसरत गरिरहेको भिडियोहरू सेयर गरिरहेकी हुन्छिन् उनी । व्यायाम र कसरत नगरेमा खेलाडीको खेल जीवनमा नै बाधा आउने बताउँछिन् उनी ।
कुशल भुर्तेल
इन्स्टाग्राममा आफ्नो फिट जिउको टि सर्टलेस फोटोका कारण निकै चर्चामा आउँछन् उदयीमान क्रिकेट खेलाडी कुशल भुर्तेल । फिटनेस एकदमै अपरिहार्य मान्ने उनी कसरत नगरी बस्नै सक्दैनन् । उनी बिहान उठेदेखि बेलुकासम्म एकदमै रुटिङ फलो गर्ने खेलाडी हुन् । उनी बिहान र बेलुका दिनको २ देखि ३ घण्टा कसरतका लागि छुट्याउने गर्छन् । उनी जिम तथा घरमै पनि आफ्नो शरीरलाई फिट राख्न विभिन्न कसरत गर्छन् ।
अहिले निषेधाज्ञाको समयमा पनि उनी घरमा नै आफ्नो शारीरिक स्वास्थ्य तथा फिटनेसको ध्यान राख्ने गरेका छन् । उनी भन्छन्, ‘फिटनेस निकै अपरिहार्य कुरा हो । खेलाडी भइसकेपछि फिटनेस मेन्टेन गर्नु सामान्य तथा निकै जरुरी कुरा हो ।’ उनी सधैं नै आफ्नो फिटनेसलाई प्राथमिकतामा राख्छन् । वर्कआउट गर्ने तथा स्वास्थ्य खानेकुरा डाइट प्लान फलो गर्नु उनको एक शोख पनि हो शरीर स्वास्थ्य रहे मात्र खेलकुदमा राम्रो नतिजा आउने उनको भनाइ छ ।
एन्जिला तुम्बाम्पो
राष्ट्रिय महिला फुटबल टोलीकी गोल रक्षक एन्जिला पनि सामान्य वर्कआउट गरेर घरमा नै फिटनेसमा ध्यान दिइरहेकी छन् । हाल काठमाडौंमा स्नातक पढ्दै आएकी उनी जुन बेल उनलाई समय मिल्छ त्यही समयलाई सदुपयोग गर्दै कसरत गर्छिन् । सामान्य कसरत मात्र गर्ने गर्छिन् उनी घरमा । अब खेलकुद कार्यक्रम कहिले हुने टुङ्गो नभएकाले उनी सामान्य वर्कआउट घरमा नै गरिरहेकी हुन्छिन् ।
उनी भन्छिन्, ‘खेलकुद कार्यक्रम नहुनु खेलाडीको शारीरिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यका लागि प्रत्यक्ष नकारात्मक असर पार्ने कुरा हो । तर घरबाट बाहिर जान नपाइने भएकाले घरमा नै सामान्य वर्कआउट गर्ने गरेकी छु ।’ उनी आफ्नो सिनियर खेलाडी सावित्रा भण्डारी, अनिता केसी जस्ता खेलाडीसँग पनि शारीरिक कसरतका कुरालाई लिएर छलफल गर्ने गरेकी छन् ।
प्रतिभा माली
भलिबल खेलाडी प्रतिभा माली हाल काठमाडौंमा नै छिन् । काठमाडौंमा रहेर घरमा जे सक्दो वर्कआउट गर्ने गरेकी छन् । घरबाट बाहिर जान नमिल्ने भएकाले शारीरिक कसरतमा खासै ध्यान दिन नपाएको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘ट्रेनिङ गर्नु हाम्रा लागि आवश्यक कुरा हो । त्यो अहिलेको अवस्थामा सम्भव भएन । तर, खानेकुरा र सामान्य घरमा गर्न सक्ने वर्क आउट गर्ने गरेकी छु ।’ ट्रेनिङ बन्द भएपछि आफैं घरमा गर्ने वर्कआउटले मात्रै शरीर त्यति साह्रै फिट नभएको भान हुने उनी बताउँछिन् । ‘घरमा सकेसम्म वर्कआउट गरिन्छ । अब सबै कुरा अलि हल्का र सरल भएपछि शारीरिक फिटनेस र खेलमा ध्यान दिनेछु ।’
नवीन रसाइली
कराँते खेलाडी नवीन रसाइली अहिले ओलम्पिक क्वालिफायर्सको तयारीमा जुटेका छन् । अहिले पनि ट्रेनिङ चलिरहेको छ । उक्त प्रतियोगिताका लागि उनीसँगै अनु
अधिकारीले पनि ट्रेनिङ गरिरहेकी छन् । उनीहरूलाई कराँते प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराइरहेको छन् । फिटनेसको कुरामा उनी एकदमै ध्यान दिन्छन् । ट्रेनिङ
चलिरहेकाले डाइट प्लान र फिटनेसमा निकै ध्यान दिइरहेको उनी बताउँछन् । ‘खेल कहिले हुने हो निश्चित नभए पनि ट्रेनिङ भई रहेकाले फिटनेस त अपरिहार्य भई नै हाल्यो’, उनले बताए ।
‘ट्रेनिङ भइराखेको छ । केही समय ट्रेनिङ रोकिँदा भने गाह्रो भएको थियो । अहिले बिहान ट्रेनिङ चल्छ । बेलुका भने घरै बस्ने भएर होला अलि बढी बोर भइन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।