महाधिवेशनबारे रणनीति बनाउँदै रामचन्द्र पौडेल समूह, दुई विकल्पमा छलफल
भदौमा महाधिवेशन नभएमा पार्टी नै खारेज हुने जोखिम

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशनलाई लिएर आन्तरिक रणनीति र विकल्पबारे छलफल थालेको छ। कांग्रेसमा संस्थापन अर्थात सभापति शेरबहादुर देउवा इतर मानिने वरिष्ठ नेता पौडेल समूहले कोरोना महामारीका कारण आगामी भदौमा महाधिवेशन नहुने देखेपछि विकल्पको खोजी थालेको हो।

तोकिएको समयमा महाधिवेशन नभएमा पार्टीको वैधानिकता संवैधानिक रुपमा संकटमा पर्ने बताउँदै आइरहेका पौडेलले आन्तरिक छलफललाई तीव्र बनाएका हुन्। 

आज आफू पक्षीय नेताहरूसँगको छलफलका क्रममा पौडेलले १४ औं महाधिवेशनका लागि बाँडिएको क्रियाशील सदस्यमध्येबाट महाधिवेशन गर्न सकिने पहिलो विकल्प प्रस्तुत गरेका छन्। उनले १३ औं महाधिवेशनमा प्रतिनिधि रहेकाबाट नै तत्कालका लागि केन्द्रीय समिति निर्वाचित गर्न सकिने प्रस्ताव पनि अघि सारेका छन्। 

आज भएको आफू पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा पौडेलले यिनै दुई विषयमा कुरा अघि बढाएका हुन्। यो बैठकमा विकसित वर्तमान राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ। 

कोरोना महामारी र क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा आगामी भदौ ७ देखि १० गतेसम्म हुने भनिएको महाधिवेशन पछि धकेलिने पक्का भइसकेको छ। यस्तो अवस्थामा देउवाविरुद्ध सम्भावित रणनीतिका लागि पौडेल छलफलमा जुटेका हुन्। 

पौडेलले आज पनि अघि सारेका दुई प्रस्तावलाई यसअघि जेठ  १३ गते पार्टीनिकट पत्रकारको संस्था प्रेस युनियनको स्थापना दिवसमा गरिएको भर्चुअल  छलफलमा पनि राखेका थिए। पौडेलका प्रस्तावमा छलफल गर्न तयार रहेको कुरा देउवाले बताए पनि अहिलेसम्म कुनै कुरा अघि बढेको छैन।



संवैधानिक संकट

नेपालको संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार कुनै पनि दलले पाँच वर्षभित्र अधिवेशन/महाधिवेशन गर्न नसकेको अवस्थामा कार्यसमितिको म्याद ६ महिना म्याद थप्न सक्छन्। कांग्रेसले संविधानबाट उपलब्ध उक्त सुविधा उपयोग गरेर यो अवस्थामा आइपुगेको छ। संविधानको त्यही व्यवस्थालाई टेकेर ६ महिना म्याद थपेको कांग्रेसले भदौमा १४ औँ महाधिवेशन गर्नैपर्छ। यदि भदौमा महाधिवेशन नभएमा पार्टी नै खारेजीमा पर्ने जोखिम हुन्छ।



कांग्रेसले यसअघि यही जेठ १५ गते दिएको जानकारी अनुसार करिब ८ लाख क्रियाशील सदस्यता अनलाइन प्रणालीमा अपडेट भएका छन्। कांग्रेसले अब हुने आम या मध्यावधि निर्वाचनलाई लक्षित गर्दै क्रियाशील सदस्यता १० लाख पुर्‍याउने योजना बनाएको छ। कांग्रेससँग हाल ४ लाख ८० हजार क्रियाशील सदस्य छन्।  

क्रियाशील सदस्यता नै अहिलेसम्म वितरण र नवीकरण भइनसकेको अवस्थामा नेता पौडेलले सभापति देउवा महाधिवेशन नगर्ने खेलमा लागेको आरोप लगाउँदै आएका छन्। देउवाले महाधिवेशन छल्न खोजेको निचोड निकालेका उनले भावी रणनीतिका लागि छलफल थालेका हुन्। 

  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार २१:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया