सन्तान सानो हुँदा त्योभन्दा पर आमाको सपना नजाँदो रहेछ
ओठ मुस्कुराएर आँखा रोएको त्यो क्षण जिन्दगीकै सुन्दर थियो
फरकधार / २२ जेठ, २०७८

भर्खर स्नातक तहको अध्ययन सुरु भएको थियो । त्यति बेला अमृताको सपना अध्ययनभन्दा पर पुगेको थिएन । उनी रेडियोमा काम गर्थिन्, जिन्दगी सुन्दर थियो । ठिक यही बेला उनको भेट सुमन थापासँग भयो । सुमनसँगको त्यो भेट उनका लागि खास भइदियो । सुमनसँगको यो भेट मित्रतामा मात्र रहेन । उक्त मित्रता प्रेममा परिणत भयो । 

स्नातकको सुरु तिरैबाट सुरु भएको प्रेम स्नातकोत्तरको परीक्षा सकिने बेलासम्म चल्यो । स्नातकोत्तरको परीक्षा दिएपछि सुमन र अमृताले बिहे गर्ने निधो गरे । २०६६ सालमा उनीहरूले पारिवारिक सहमतिमा परम्परागत बिहे गरे । त्यस बेला अमृता राम्रो अध्ययनका लागि भनेर उनले रेडियोमा गर्दा गर्दैको जागिर छोडेर बसेकी थिइन् । सुमन भने एक वित्तीय क्षेत्रमा काम गर्थे ।
 
प्रेममा रहँदा उनीहरूको सबैभन्दा ठूलो साझा सपना भन्नु नै प्रेमलाई बिहेमा परिणत गर्नु थियो । बिहेपछि पनि उनीहरूले ठूलाठूला सपनाका आकार बनाएनन् । सामान्य रूपमा एक गुणस्तरीय जीवन बाँच्नु थियो । गुणस्तरीय जीवनको कल्पनाभित्र छोराछोरी पनि पर्थे । तर, बिहे गरेको दुई वर्षसम्म बच्चा भएनन् । यो समय लामो त होइन्, तर अमृता डराउँथिन् । गर्भनिरोधक कुनै सामानको प्रयोग गरिएको थिएन । तर, २ वर्षसम्म बच्चा नबस्दा भएको त्यो तनाव आज पनि ताजा बनेर आउँछ अमृताको मानसपटलमा ।

त्यस दिन घरमा अमृता र उनका श्रीमान मात्रै थिए । अमृताको महिनावारी रोकिएको केही समय भएको थियो । उनका श्रीमानले परीक्षण गराउन भने । यस अघि पनि अमृताले पटक÷पटक गर्भ परीक्षण गराएकी थिइन् । तर, सधैं रिजल्ट नेगेटिभ । यस पटक उनलाई परीक्षण गराउन मनै लागेन । यद्यपि सुमनले कर गरिरहे । सुमनको करले गरेको परीक्षणले उनको जीवनमा खुसीयाली ल्याइदियो । रिजल्ट हेरेर उनका ओठ मुस्कुराइरहे । आँखा रोइरहे । ती आँसु दुःखका थिएनन्, खुसीका थिए ।

त्यसपछि उनको जीवन नै परिवर्तन भयो । गर्भवती भएपछि अमृता खुब प्रोटेक्टिभ भइन् । उनले आफूलाई खुब जतन गरिन् । आफैलाई माया गरिन् । जसले जे गर्नुपर्छ भन्यो, त्यही गरिन् । आफूलाई खान मन लाग्ने कुराभन्दा खान पर्ने कुरा मात्रै खाइन् । तर, यो समय आमा बन्दैछु भन्ने अनुभूतिभन्दा अन्य केही कुरा सहज भए अमृताका लागि । 

गर्भवती हुनुअघि उनी निकै पातली थिइन् । गर्भवती भएपछि एकैपटक बढेको मोटोपन नै सबैभन्दा अप्ठ्यारो भइदियो उनका लागि । वान्ता हुने, गल्ने, खुट्टा घुँडासम्म सुनिने र दुख्नेलाई पनि यस्तै होला भनेर सहनुको विकल्प थिएन । बडेमानको आफ्नो शरीर देखेर आफैसँग डराउँथिन् । यो बेला परिवारले गर्ने सहयोग र दिने साथ विशेष थियो अमृताका लागि । श्रीमान दिनभरि काममै हुन्थे । घरका अन्य सदस्यले ख्याल राख्थे । साँझ बिहान श्रीमानको साथ । अमृतालाई लाग्थ्यो ‘यो संसारकै भाग्यमानी श्रीमती र बुहारी हुँ म ।’

त्यो समय उनको पेट हेरेर भविष्यवाणी गर्नेहरू प्रशस्तै भेटिन्थे । कतिले उनको पेट हेरेर भन्थे ‘जुम्ल्याहा बच्चा जन्मन्छ ।’ कतिले ‘आम्मामा कत्रो भाको भन्दै हाँस्थे, कोही कतिवटा पाउने भन्दै गिज्याउँथें ।’ उनलाई झन् धेरै गाह्रो महसुस हुन्थ्यो ।
 
अमृतालाई डाक्टरले दिएको डेटभन्दा दुई दिन अघि नै प्रशव व्यथा सुरु भयो । बिहान ११ बजेबाट सुरु भएको प्रसव व्यथा साँझको ६ बजेसम्म कहिले बढ्ने त कहिले घट्ने भइरह्यो । व्यथाले च्यापेपछि अमृतालाई लाग्थ्यो ‘अब योभन्दा बढी सहन सक्दिनँ, म त मर्छु होला ।’ त्यसपछि पो बल्ल सुत्केरी व्यथा सुरु भएको रहेछ । पीडाको बारेमा उनी भन्छिन्, ‘त्यो चरम अवस्था शब्दमा कसरी बताउनु ? त्यो बेला केही सोचिन्न रहेछ । मैले त कति बेलासम्म यसैगरी दुख्छ होला भन्ने कुरा पनि लामो समय साेंच्न सकिनँ । मस्तिष्क सोच्ने अवस्था मै नहुने रहेछ ।’

रातको साढे एक बजे बल्ल उनले यो पीडाबाट मुक्ति पाइन् । त्यो मुक्ति आमा बनेको थियो । उनको काखमा छोरी आइन् । आफैले पुस गर्न नसकेपछि अन्तिममा भ्याक्युमले तानेर उनकी छोरी निकालियो । सुरुमा उनले छोरी रोएको मात्रै सुनिन् । उनी भन्छिन्, ‘अनि त्यो तातो डल्लोलाई आफ्नो पेटमाथि महशुस गरेँ । बच्चा स्वस्थ छ र छोरी हो भन्ने अनुभुति भित्रैबाट आयो । मलाई कसैले केही बताउनै परेन । तर त्यति बेलै मैले बच्चा चाहिँ देखिनँ । मलाई देखाएनन् सायद । वा त्यस्तै हुन्छ । अनि मेरो घाउमा टाँका लगाउने, बच्चालाई सफा गर्ने जस्ता कामहरू भए । अलि पर हिटरको छेउमा मेरी छोरी सुताइएको थियो । उसलाई बेरेको कपडाले म उसलाई चिन्न सक्थेँ । उ बेला बेलामा रुन्थी ।

म मलाई टाँका लगाइरहेकी नर्सलाई उ किन रोएकी भनेर सोध्थेँ ।  उ छोरी हो है ? कस्ती छ ? स्वास्थ्य कस्तो छ ? यस्तै यस्तै । सब सकिएपछि मलाई ह्विलचेयरमा राखियो । म बच्चा हेर्न आतुर थिएँ । नर्सले मेरै हातमा बच्चा राखेर भनिन्’ ‘ल हेर्नुस् तपाईंको बच्चा ।’ बोक्न सक्नुहुन्छ होला नी ? नौ महिना पेटमा बोकेको सन्तान पहिलो पटक मेरो हातमा थिई । त्यो पनि यति राम्री कि मैले साना नानी त्यति राम्री त्यो अघि कहिले देखेकै थिइनँ । केही अघिसम्मको पीडाको त्यो पराकाष्ठामा मृत्युले नै जित्छ कि क्या हो झैंको अवस्थामा लेवर रुमभित्र छिरेकी म, केही समयपछि आफ्नो हातमा मात्र होइन, आफूभित्र पनि नयाँ जीवन लिएर फर्किँदै थिएँ । र, त्यो अनुभुति जीवनकै प्रिय अनुभुतिमध्येको एक हो ।’

बच्चा पेटमा हुँदा अमृतालाई लाग्थ्यो कि बच्चा जन्मिएपछि त सजिलो हुन्छ । तर त्यस्तो नहुने रहेछ । बच्चा हुर्काउन झन् धेरै गाह्रो  । उनकी छोरी मंसिरमा जन्मिइन् । चिसो मौसम । बच्चालाई चिसोले निकै सताउँथ्यो । उनी आफू शारीरिक रूपमा निकै कमजोर महसुस गर्थिन् । परिवारका सबै सदस्य साथमै भएर पनि खै के नमिलेको जस्तो भान हुन्थ्यो । छोरी सानै हुँदा उसलाई हुर्काउनु नै आफ्नो सबैथोक हो जस्तो लाग्थ्यो अमृतालाई । उमेर बढ्दै जाँदा छोरी दौडिन थालेपछि बल्ल अमृतालाई लागेको थियो– छोरीभन्दा पर पनि छोरीकै लागि मैले गर्नु पर्ने थुप्रै काम छन्, बनाउनु पर्ने जिन्दगी छ । 

छोरी एक वर्षकी भएपछि अमृताले जागिर सुरु गरिन् । सानी छोरी छाडेर काममा जाँदा पनि उनको मन कहिल्यै आत्तिएन । उनी भन्छिन्, ‘मलाई घरमा छोरी छाडेर काममा जाँदा खासै कहिल्यै गाह्रो भएन । घरमा उ हजुरबुबा हजुरआमासँग हुन्थी । दादा र ठुलोमामु पनि । दुईटा बच्चा परिवारका सबै सदस्यको उत्तिकै माया र स्याहार पाएर हुर्किरहेका थिए । त्यसैले त्यो समय चाहिँ त्यति कठिन भएन । बरु कहिलेकाहीं बिरामी हुँदा भने गाह्रो हुन्थ्यो । ’

छोरी १६ महिनाकी भएपछि उनका श्रीमान अमेरिका गए । त्यसपछि छोरी निकै लामो समयसम्म बिरामी परिन् । रुघाखोकीले निकै सतायो उनलाई । उनले त्यति बेला हेटौँडामा उपलब्ध बालरोग विशेषज्ञलाई देखाइन् । औषधि नियमित दिँदा पनि बीसको उन्नाइस भएन । डाक्टरले एलर्जी भनिदिन्थे । दिनभरि परिवारका अन्य सदस्य पनि सँगै हुने भएर उनले छोरी बिरामी छ भने बिर्सिन्थिन् । रात परेपछि जब आफ्नो कोठामा पस्थिन्, उनलाई आफ्नै कोठाले तर्साउँथ्यो । एक रात छोरीलाई झन् धेरै ज्वरो बढ्यो । उनले रातभरि छोरी काखमा च्यापेर बसिन् । छोरीले खोक्दा उसका ओठ निला भएझैं लाग्थ्यो अमृतालाई । उनी आत्तिन्थिन्, छोरी रुन्थिन् । अमृता त्यो रात छोरीसँगै रोइन् ।


 
त्यसको भोलिपल्ट जेठाजु र उनी भएर छोरीलाई भरतपुर अस्पताल लिएर गए । त्यतिबेला डाक्टरले गाली गर्दै भने, ‘बच्चालाई डिप निमोनिया भइसक्यो, तपाईहरु के हेरेर बसिरहनु भएको थियो ?’ 

निमोनिया निकै गढिसकेको रहेछ । छोरीलाई ६ दिन हस्पिटल राख्नुपर्यो । हातमा खुट्टामा क्यानुला लगाएर औषधि दिनुपथ्र्यो । हरेक चोटि क्यानुला फेर्ने बेलामा छोरी रुन्थिन् । त्यो सम्झिँदा अहिले पनि अमृताको मन भारी हुन्छ । हरेक ६/६ घण्टामा उनलाई औषधि । छोरी निन्द्रामा पनि तर्सिन्थी ।

त्यो समय सम्झँदै अमृता भन्छिन्, ‘हस्पिटलबाट घर लगेपछि पनि धेरै समयसम्म राति उ तर्सिन्थी । त्यो घटनाले मलाई यति कमजोर बनायो कि महिनौंसम्म म रातमा निदाउनै नसक्ने भएँ । छोरीले निन्द्रामा कोल्टे फेर्दा पनि उसलाई गाह्रो भयो कि जस्तो लाग्थ्यो । मलाई पहिले नै उसलाई भरतपुर किन लगिनँ ? यहीको डाक्टरको भरोसामा किन बसेँ भन्ने पछुतोले पनि खुब सतायो । त्यहाँका डाक्टरसँग पनि खुब रिस उठ्यो । तर जे हुनु भइसकेको थियो । पछुताउनुको विकल्प थिएन । ’

अहिले अमृताकी छोरी ८ वर्षकी भइन् । उनी पनि अमेरिकामा नै छिन् । पढ्नु, खेल्नु रमाइलो गर्नु नै उनका लागि सबै थोक हो अहिले । उनकी छोरीलाई जनावर, प्रकृति र पुस्तकमा विशेष लगाव छ । भर्खर शब्द जान्ने बेलामा अमेरिका गएकी उनकी छोरी नेपाली पढ्न र लेख्न जान्दिनन् । त्यसैले प्रत्येक वर्ष समर भ्याकेसनमा नेपाल जाने र नेपाली सिक्ने उनको सपना छ  । उनकी छोरी अमेरिकाको टिचर र नेपालको एक्ट्रेस बन्छु भन्छिन् । जे बने पनि छोरीले आफ्नो जिन्दगी स्वतन्त्र रूपमा बाँच्न सकोस् भन्ने अमृताको चाहना छ । 

 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार ११:२५:२९,   अन्तिम अपडेट : जेठ २२, २०७८ शनिबार ११:४७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया