आजदेखि सुरु हुने भनिएको राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण रोकिएको छ । नेपाली महिला भलिबल टिमको बन्द प्रशिक्षण केही दिनका लागि स्थगित भएको हो ।
नेपाल भलिबल संघ (एनभिए) ले बिहीबार टिमको बन्द प्रशिक्षण केही दिनका लागि स्थगित गरिएको जनाएको छ । कोरोनाको असरका कारण प्रशिक्षण केही दिनका लागि रोकिएको हो ।
एनभिएको जेठ १४ गते बसेको भर्चुअल बोर्ड बैठकले महिला टिमको प्रशिक्षण जेठ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो । तर, काठमाडौं बाहिर रहेका खेलाडी निषेधाज्ञाको कारण आउन सम्भव नभएपछि प्रशिक्षण केही दिन स्थगित गरिएको संघले जनाएको छ ।
फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण यसअघि जेठ २१ अर्थात् आजदेखि सुरु हुने तय भएको थियो ।
एनभिएले नेपाली महिला टिमको मुख्य प्रशिक्षकमा जगदीश भट्ट र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ । टिम व्यवस्थापनको जिम्मा संघका उपाध्यक्ष निरोज मास्केलाई दिएको छ ।
एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।