खनाल-नेपाल पक्ष कर्णालीका नेता भन्छन्,‘ओली पछि हट्दैनन् नयाँ पार्टीको विकल्प छैन’

नेपाल कम्युनिस्ट पार्टी(एमाले) भित्र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबीच संघर्ष चलिरहेको छ । अध्यक्ष ओलीले एकलौटी रूपमा पार्टीलाई अघि बढाएको भन्दै चरम रुष्ट बनेको नेपाल पक्ष पार्टीभित्र एकता गर्नेदेखि नयाँ दल खोल्ने सम्मको स्थितिमा पुगेको छ । 

नेपाल पक्षले देशका अधिकांश जिल्लामा समानान्तर कमिटी समेत गठन गरेको छ । कर्णाली प्रदेशका पनि सबै जसो जिल्लाहरूमा कमिटी गठन गरिएको छ । तर यसलाई समानान्तर कमिटी नभनेर कार्यसमिति पुनर्गठन भएको बताइएको छ । 

खनाल-नेपाल समूह कर्णाली प्रदेशका नेताहरूले एमाले २०७५ जेठ २ गतेकोे अवस्थामा फर्किए मात्र एकता हुने नत्र नहुने प्रष्ट पारेका छन् । ओली आफ्नो निर्णयबाट पछि हट्ने अवस्था नरहेको भन्दै उनीहरूले नयाँ पार्टी खोल्नुको विकल्प नरहेको समेत बताउँछन् । 

खनाल-नेपाल पक्षका नेता के भन्छन् त ?

विमल पुन
अध्यक्ष, एमाले नेपाल समूह, रुकुम पश्चिम

ओलीले गरेको प्रतिगमन विरुद्धमा हामी अहिले पनि लागिरहेका छाैँ । पार्टीभित्र एकदमै गम्भीर संकट देखिइसकेको छ । अहिलेको अवस्थामा ओलीले हाम्रा मागहरू पुरा गरी पार्टीलाई एकता गरेर लिन्छन् भन्ने हामीलाई लाग्दैन । हामीले राजनीतिक प्रतिवाद गरिरहेका छौँ । तर सधैं यसरी नै बस्न सकिँदैन । पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा नलिएपछि देश र जनताको मुक्तिका लागि पनि नयाँ विकल्प खोज्नुपर्ने हुन्छ । र त्यो विकल्प नयाँ दल हो । 



मोहन बडुवाल
अध्यक्ष, माधव कुमार नेपाल समूह, सुर्खेत

पार्टी एकता एक पवित्र कुरा हो । हाम्रो धारणा पनि पार्टी एकता नै गर्नुपर्छ भन्ने हो । तर व्यवहारत: हेर्दा त्यो हुने देखिँदैन । पार्टी अध्यक्ष ओलीले गरेका गतिविधिले हामीलाई दुखित बनाएको छ । पार्टीलाई एकलौटी रूपमा अघि बढाउने ओलीको अहम, दम्भलाई निर्मुल पार्न हामी यी गतिविधि चालिरहेका छौँ । ओलीले पार्टीलाई एकतावद्ध हैन आवश्यक पर्दा नजिक ल्याउने त्यसपछि व्यवस्था गर्ने गरेका छन् ।



पार्टीमा २०७५ जेठ २ गतेको अवस्थामा पनि छलफल बहस गर्नुपर्ने कार्य थुप्रै छन् । अहिले हामीले पार्टीभित्र एकताको ढोका खुला राख्नुका साथै नयाँ रणनीति पनि बनाइरहेका छौँ । सोही अनुसार एमाले जिल्ला समिति पुनर्गठन गरेका छौँ । सुर्खेत मात्र नभएर हाल सम्म ६८ जिल्लामा पुनर्गठन भइसकेको छ ।

नन्द सिंह बुढा
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री, कर्णाली प्रदेश तथा एमालेको माधव नेपाल समूह डोल्पाका जिल्ला अध्यक्ष 

जनता हाम्रो पक्षमा छन् । पार्टीभित्र समानान्तर कमिटी समेत गठन भएको छ । डोल्पा जिल्लाको अध्यक्ष म हुँ । पार्टीभित्र के कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा छलफल भइरहेका छन् । अहिलेको अवस्थामा प्रदेशबाट भन्दा पनि हामी केन्द्रको निर्णय अनुसार अघि बढ्ने छाैँ । केन्द्रमा जे निर्णय हुन्छ, त्यसमा हाम्रो पूर्ण रूपमा समर्थन रहने छ ।

प्रकाश ज्वाला
पोलिटब्यूरो सदस्य, नेकपा एमाले नेपाल पक्ष 

विकसित राजनीतिक घटनाक्रमलाई कसरी समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरामा हामी केन्द्रित भयौँ । तर एमालेभित्र ओली पक्षको अहंकार, दम्भका कारण पार्टीभित्र एकपछि अर्का गलत काम भइरहेका छन् । ती सबै कुराहरूलाई ध्यानमा राखेर एमालेको माधव नेपाल पक्ष आफ्नै तरिकाले अघि बढिरहेको छ । पार्टीभित्र एकताको प्रयास भइरहेका छन् । यसै गरी नयाँ पार्टी वा अन्य कसरी अघि बढ्न सकिन्छ भन्ने हिसाबमा पनि छलफल भइरहेको छ । यसमा केन्द्रको निर्णयको आधारमा हामी अघि बढ्छौँ ।

  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १७:५१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया