प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनमा निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले आपत्ति जनाएका छन्। बादलले आपत्ति जनाएपछि आज नियुक्त भएका मन्त्रीहरुको सपथ पनि दुई घण्टा ढिलो भएको छ।
साँझ साढे ५ बजे नै मन्त्रीहरुलाई सपथ दिलाउने तयारी थियो। तर बादल समूहले मन्त्रिपरिषद विस्तारमा आपत्ति जनाएपछि ढिला भएको हो। निवर्तमान गृहमन्त्री बादल मन्त्री क्वार्टर पुल्चोकबाट बालुवाटार पुगेर यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेका थिए।
प्रधानमन्त्रीले बादल समूहलाई मनाउन समय खर्चनुपरेको कारण नयाँ मन्त्रीहरुको सपथमा ढिलाइ भएको थियो। बालदसँगको सम्वादपछि राति साढे ८ बजे मात्रै मन्त्रीहरुको सपथ कार्यक्रम राष्ट्रपतिको कार्यालय शीतल निवासमा राखिएको थियो।
बादलले आफ्नो समूहका केही नेताहरुलाई पनि क्याबिनेटमा समेटेर लैजानुपर्ने अडान राखेका स्रोतले बताएको छ। तर उता प्रधानमन्त्री ओलीले नयाँ अनुहार ल्याउन तथा बादल समूहलाई पनि समेट्ने गरी सातवटा मन्त्रालय आफैँसँग राखेका छन्।
गत जेठ ६ गते बादलसहित सात मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले नियुक्ति बदर गर्न अन्तरिम आदेश दिएको थियो। सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइनु असंवैधानिक भएको ठहरसहित सर्वोच्च अदालत अन्तरिम आदेश दिएपछि उनीहरु सरकारबाट बिदा भएका थिए।
नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेकाले सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते मन्त्रिपरिषद्मा फेरि नियुक्ति दिएका थिए। गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री बदलसहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको थियो।
सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका थिए। उनीहरु आजसम्म मन्त्री क्वार्टरमै थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।