सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले नयाँ मन्त्रिमण्डल गठनसँगै बहुराष्ट्रिय राज्यको बहस उठ्नु राम्रो संकेत नभएको बताएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
यसअघि नै पटकपटक असान्दर्भिक प्रमाणित भइसकेको बहुराष्ट्रिय राज्यको कुरा नयाँ उपप्रधानमन्त्री राजेन्द्र महतोले आफूहरुको एजेण्डा भएको बताएपछि भट्टराईले टिप्पणी गरेका हुन् ।
भट्टराईले यस्ता असान्दर्भिक कुराहरु राज्यको जिम्मेवार निकाय सम्हालेका व्यक्तिले बोल्न नहुने बताए । उनले मन्त्रीहरुको यस्तो बोलीमा लगाम लगाउनका लागि प्रधानमन्त्री केपी शर्मा अोलीलाई अनुरोध पनि गरेका छन् ।
भट्टराई लेख्छन्, पहिलो र दोश्रो संविधानसभा मै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन् । संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।
भट्टराईले संविधानले राष्ट्रको परिभाषामै स्पष्ट रुपले 'बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान' उल्लेख गरेको बताए ।
संविधानको परिभाषामा नपरेका कुरा सरकारमा रहेका व्यक्तिले बहसमा ल्याउनु राम्रो संकेत नभएको भट्टराईले बताए । उनले विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता पनि उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।