ट्विटरले भारतका उपराष्ट्रपतिको अकाउन्टमा गडबडी गरेपछि...

भारतका उपराष्ट्रपति एम वेन्कैयानायडुको टिव्टर खाताको भेरिफाइड चिन्ह शनिबार बिहान एकाएक गायब भयो । देशको उच्च तहको व्यक्तिको ट्विटरमा यसरी गडबडी गरेपछि यसको निकै चर्चा र आलोचना भयो। 

ट्विटरले एक्कासी उनको खातालाई दिएको आधिकारिकता किन हटायो भनेर निकै आलोचना भयो । सामाजिक सञ्जालका विज्ञहरुको प्रयासपछि ट्विटरले फेरि उपराष्ट्रपति नायडुको ट्विटरमा भेरिफाइडको चिन्ह (निलो टिक) देखाइदिएको छ। गायब भएको केही घण्टापछि नै ट्विटरले गल्ती सुधार गर्यो।

सन २०१३ को अगस्टमा खोलेको नायडुको उक्त ट्विटरमा १३ लाख भन्दा धेरै फलोअर्स देखिन्छ। 

यसबारे हिन्दुस्तान टाइम्सले दिएको खबर अनुसार खाताबाट भेरिफाइडको चिन्ह हटाउनुका कारणबारे प्रश्न गर्दा ट्विटरले लामो समय निस्क्रिय रहेकाले यसो गरिएको जवाफ दिएको छ। 

करिब ११ महिनादेखि उनको ट्विटर निस्क्रिय थियो । उपराष्ट्रपति नायडुले अन्तिम ट्विट २०२० जुलाई २३ मा गरेको देखिन्छ । लामो समय निस्क्रिय रहेकोले कम्पनीको भेरिफिकेसन पोलिसी अनुसार नै अनभेरिफाइड गरेको दावी ट्विटरको छ। 



यो नायडुको व्यक्तिगत खाताको हो । उनको उपराष्ट्रपतिको रुपमा खोलिएको खाता भने उनका सचिवालयका कर्मचारीले चलाउने गरेको र त्यसबाट भेरिफाइड चिन्ह नहटेको  हिन्दुस्तान टाइम्सले जनाएको छ। 

केही भारतीयहरुले भने धेरै अकाउन्ट लामो समय अपडेट नहुँदा पनि भेरिफाइड चिन्ह यथावत रहेको पाएको बताएका छन्।  त्यसकारण भारतका उपराष्ट्रपतिको अकाउन्टमा नियतबस यसो गरेको उनीहरुको आरोप छ। 



ट्विरटरले त्यो खाता आधिकारिक व्यक्तिले नै चलाएको छ  भनेर प्रमाणित गरेपछि निलो टिक चिन्ह दिने गरेको छ । त्यसका लागि खाता सञ्चालकले प्रमाणित हुने कागजातहरु पेश गरेर आधिकारिकताको माग गर्न सक्छन्।

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १७:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया