प्रदेश २ मा सत्ता समीकरणको अभ्यास सुरु

जनता समाजवादी पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएसँगै त्यसको असर अब प्रदेश २ को सरकारमा पर्ने लगभग निश्चित भइसकेको छ । योसँगै यस प्रदेशमा अब मुख्यमन्त्री को बन्ला भन्ने चर्चा सुरु हुन थालेको छ । 

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्ष केन्द्र सरकारमा सहभागी भएसँगै प्रदेश २ सरकार पुनर्गठनका लागि सत्ता समीकरणको अभ्यास सुरु भइसकेको देखिएको छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष संयुक्त रुपमा सरकारको विरोधमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगामी मार्गमा गएको भन्दै विपक्षीहरु एक ठाउँमा आएका हुन् । 

जसपाको महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भएपछि नेता–कार्यकर्ताबीच समेत तीव्र ध्रुवीकरण बढ्दै गएको देखिएको छ । यी घटनाक्रमले जसपा अब एक नरहने लगभग निश्चित नै भइसकेको छ ।

महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भएसँगै प्रदेश २ मा सरकार पुनर्गठनको तयारीमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव लागिपरेका छन् । तर, त्यसका लागि केही समय भने लाग्ने भएको छ ।

अध्यक्ष यादवले शुक्रबार मात्रै कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग यस विषयमा छलफल गरेका छन् । निधिले भने पार्टीभित्र छलफल गरेर निर्णय लिने अध्यक्ष यादवलाई जवाफ दिएको स्रोतले जनाएको छ । 



प्रदेश सरकार समीकरणको विषयमा उपसभापति निधिसँग भेटेर कुरा गरेका यादव सोही साँझ जनकपुरधाम आइपुगेका छन् । यहाँ उनले सत्ता समीकरणको विषयमा पार्टीभित्र र कांग्रेस तथा माओवादीका नेतासँग छलफल सुरु गरेका छन् ।

प्रदेश २ मा जसपा (पूर्वराजपा र पूर्वसमाजवादी पार्टी) नेतृत्वको सरकार छ । त्यसमध्ये पूर्वराजपाका केही मन्त्रीलाई हटाएर मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी अध्यक्ष यादवको रहेको स्रोतले जनाएको छ । प्रदेश २ सरकारमा अहिले पूर्वराजपाका तीन मन्त्री र तीन राज्यमन्त्री छन् भने पूर्वसमाजवादीका मुख्यमन्त्रीसहित तीन मन्त्री र तीन राज्यमन्त्री छन् ।



पूर्वराजपाका दुईजना मन्त्रीहरु रामनरेश राय यादव र नवलकिशोर साह उपेन्द्र यादव पक्षमा खेलेर लागिसकेका छन् । ठाकुरसहित चार नेतालाई कारबाही गर्ने निर्णयमा समेत उनीहरुले हस्ताक्षर गरेका छन् । मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री सुरेश मण्डल, डा.डिम्पल झा र अभिराम शर्मा मात्र पूर्वराजपाको पक्षमा छन् । 

एकजना प्रदेशसभा सदस्यले भने, ‘एकजना मन्त्रीलाई हटाएर उपेन्द्र यादवले रिस्क लिनुहुन्न, रामनरेश र नवलकिशोरलाई हटाउन सक्नुहुन्न, जितेन्द्र सोनल एक्लैलाई हटाउनुहुन्न, बरु मन्त्रालय थप गरेर कांग्रेसलाई सहभागी गराउने सम्भावना देखिएको छ ।’ सबै मन्त्रीलाई हटाएर कांग्रेस र माओवादी केन्द्रलाई समेत समावेश गरेर मन्त्रीमण्डल पुनगर्ठन गर्ने अर्को सम्भावना पनि रहेको उनको दाबी छ । 

यता, मुख्यमन्त्रीमा टिक्नका लागि आफ्नो पक्षमा बहुमत देखाउन लालबाबु राउतले हस्ताक्षर संकलन गरिरहेको स्रोतले जनाएको छ । उता, जितेन्द्र सोनलले पनि हस्ताक्षर संकलन गरिरहेको बुझिएको छ । संसदीय दलको नेता बन्ने व्यक्ति नै मुख्यमन्त्री बन्ने भएकाले प्रदेशमा दलको नेता बन्नका लागि हानथाप चलिरहेको छ ।

दलको नेता बन्न २८ जना सांसदको समर्थन चाहिन्छ । हाल प्रदेश २ मा पूर्वसंघीय समाजवादी फोरमका ३०, पूर्वराजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ तथा एक जना स्वतन्त्र सांसद छन् ।

यसअघि प्रदेशसभाको सदस्य संख्या १०७ रहे पनि माओवादी केन्द्रले ओली पक्षमा सामेल आफ्ना चार सांसदलाई कारबाही गरेको थियो । त्यसैले अहिले प्रदेशसभामा कायम सदस्य संख्या १०४ रहेको छ । यस हिसाबले प्रदेश २ मा सरकार बनाउनका लागि ५३ जना सांसद भए पुग्छ ।

प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भएको हो ? भन्ने प्रश्नमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अहिले सरकार परिवर्तनभन्दा पनि आफूहरु नीति तथा कार्यक्रमतर्फ बढी केन्द्रित रहेको बताए ।

उनले भने, ‘प्रदेशसभामा जेठ २४ गते नीति तथा कार्यक्रम पेस गर्नुपर्ने भएकाले यसैै सेरोफेरोमा केन्द्रित छौँ ।’ उनले यस प्रदेशमा सरकार परिवर्तन भए पनि लालबाबु राउत नै मुख्यमन्त्री रहने गरी पुनर्गठन हुने दाबी गरे । 

प्रदेश नम्बर २ मा सरकार पुनर्गठन भएमा तत्कालीन राजपा नेपालका आठ सांसद उपेन्द्र यादवकै पक्षमा रहने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले दाबी गरे । 

यता, नेकपा एमाले संसदीय दलका नेता शत्रुघ्न महतोले प्रदेश सरकार पुनर्गठन भए पनि आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताए । नेता महतोले सत्ता समीकरणअनुसार एमालेले आफ्नो भूमिका तय गर्ने स्पष्ट पारे ।

जसपाले सरकार पुनर्गठन गर्यो भने महन्थ समूहलाई हटाएर मुख्यमन्त्री राउतकै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जिकिर गरे ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकार परिवर्तन भए आफू मुख्यमन्त्री बन्न पाउनुपर्ने दाबी गरेका छन् ।

जसपाका सचेतक समेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साह सरकारले के गर्छ हेर र पर्खको अवस्थामा रहेको बताउँछन् । सरकारबाट रहन वा हट्न परे पनि त्यसका लागि तयार रहेको उनको आशय छ । 
 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १९:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया