'विदेशी स्वार्थमा चुरे दोहन, अघिल्ला सरकार पनि उत्तिकै जिम्मेवार'

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तकको आज भर्चुअल रुपमा सार्वजनिक गर्दै उनले यस्तो भनेका हुन्। 

'चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो', उनले भने, 'यसको संरक्षण गर्नु आवश्यक छ तर चुरे दोहनमा वर्तमान सरकार मात्रै नभई अघिल्ला सरकार पनि जिम्मेवार रहेका छन्, यसमा विदेशी स्वार्थ रहेको प्रष्ट  छ।'

पाँचतले मन्दिर र अन्य साँस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रुपमा रहेको उनले बताए। 

अध्यक्ष बिजुक्छेले योग्यता र अनुभवबिना मन्त्री बनाउने प्रचलनका कारण मन्त्रालयहरू लथालिङ्ग रहेको बताउँदै सरकारमा गएका राजनीतिक पार्टीले सही काम गर्न नसक्दा देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको आरोप लगाए।

कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाले यहाँका मुख्य–मुख्य स्मारकबारे अध्ययनलाई चालु राख्नुपर्ने उल्लेख गरे।

पाँच तले मन्दिरबारे प्रस्तुत प्रतिवेदन दस्तावेजको रुपमा रहेको बताउँदै उनले ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत इन्जिनियर तथा प्राविधिकहरूलाई दक्ष बनाउनुपर्नेमा जोड दिए।





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १९:५९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया