संसद विघटनको मुद्दामा सुनुवाइ हुँदै, संवैधानिक इजलास पुनर्गठन

प्रतिनिधिसभा विघटनसँग सम्बन्धित मुद्दाहरुमा आज सुनुवाइ हुँदैछ । विघटन खारेजीको मागसहित सर्वोच्च अदालतमा परेका ३० वटा मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेका हो ।

यसअघि गठित संवैधानिक इजलासमा न्यायाधीशहरूमाथि प्रश्न उठेर रोकिएको सुनुवाइ आज फेरि सुरु हुन लागेको हो । आजै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासको पुनर्गठन पनि गर्दैछन् । 

यसअघि प्रधानन्यायाधीश जबराले गठन गरेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा विवाद भएपछि इजलास पुनर्गठनको माग उठेको थियो । 

संवैधानिक इजलास गठन हुँदा वरिष्ठता मिचेको र मुद्दामा राय बाझिसक्ने न्यायाधीश राखेको भन्दै रिट निवेदक तर्फका वकिलहरुले विरोध जनाएका थिए । न्यायाधीशद्वय केसी र श्रेष्ठले यसअघि ऋषि कट्टेलको मुद्दामा नेकपा एकीकरण खारेज हुने फैसला गरेका थिए । 

उक्त फैसलाका कारण अहिलेको परिस्थिति आएको भन्दै पक्षका वकिलहरुले अहिलेको मुद्दामा स्वार्थ बाझिने भन्दै विरोध जनाएका थिए । तर, आफूहरूमाथि प्रश्न उठे पनि इजलासमा कायम रहने केसी र श्रेष्ठको निर्णयपछि इजलासमा रहेका अरू दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले आफूहरू अलग हुने निर्णय गरेका थिए ।

यससँगै वरिष्ठताका आधारमा इजलास गठन हुनुपर्ने माग उठेको थियो । जसअनुसार आज संवैधानिक इजलासको पुनर्गठन हुन लागेको हो । 



वरिष्ठताका आधारमा इजलास बने प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई इजलासमा रहनेछन् । 



  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार ८:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया