नेपालमा बढ्दै क्लब हाउसको ट्रेन्ड

सामाजिक सञ्जालका क्षेत्रमा अहिले चर्चाका रहेको छ, क्लब हाउस । यो सामाजिक सञ्जाल पछिल्लो समय निकै प्रभावकारी बनेको छ ।

क्लब हाउसको विकास

अन्य सामाजिक सञ्जालभन्दा फरक खालको यो प्लेटफर्ममा अहिले ६० लाखभन्दा बढी प्रयोगकर्ता छन् । यो प्लेटफर्म २०२० को अप्रिलमा पहिलो पटक प्रयोगमा आएको हो । पहिलो पटक यो प्लेटफर्ममा बसेको अनुभव सुनाउनेहरू धेरैले यसलाई सोसियल नेटवर्क, बहस कक्ष र लाइभ पोडकास्ट पनि भन्ने गरेको पाइन्छ ।

क्लब हाउस २०२० मा नै अमेरिकामा ट्रेन्डिङ नम्बर ५ सम्म परेको सोसियल मिडिया नेटवर्क बनेको थियो ।

क्लब हाउस इङ्ल्यान्डका नागरिक पाउल डेभिसन र रोहस सेथले बनाएका हुन् उनीहरूसँगै अल्फा एक्सप्लोरेसन लिमिटेडले यस एपको विकासमा सहयोग गरेको थियो ।

कस्ता व्यक्तिका लागि क्लब हाउस ?



विभिन्न किसिमका ग्रुप बनाई यहाँ आफ्ना रुचि अनुसारको विषयका बहस गरिन्छ । यो एप सम्पूर्ण उमेर समूहका व्यक्तिले प्रयोग गरेको पाइन्छ ।

नेपालमा अहिले विशेषतः निषेधाज्ञाको समयमा मानिसहरू एक-आपसमा जम्मा भई ग्रुप बनाउँछन् । यसमा विज्ञदेखि सामान्य स्तरका व्यक्तिहरू जोडिएको पाइन्छ ।



नेपालमा अहिले यो क्लब हाउसमा विभिन्न किसिमका दैनिक एपिसोडहरू पनि चलाउन थालिएको छ । यस एपको माध्यमबाट नै अहिले क्रिकेटको २ वटा विशेष सेसन सुरु गरिएको छ । जसमध्ये एउटा ग्रुप नेपालका क्रिकेट पत्रकार दिपेश पण्डित तथा क्रिकेट कमेन्टर विपुल भट्टराई र आयुस  गौतम मिलेर क्रिकेट खेलाडीसँगको सेसन सुरु गरेका छन् ।

उनीहरूले यस सेसनमा पुरुष तथा महिला क्रिकेट खेलाडीलाई बोलाई उनीहरूको खेल जीवन र उनीहरूका व्यक्तिगत कुरालाई रोचक तरिकाले प्रस्तुत गर्छन् । यस सेसनमा उनीहरू तीन जना मोडरेटर सञ्चालक भई फ्यान, पत्रकार तथा क्रिकेटसँग सम्बन्धित मानिसलाई समेत प्रश्न सोध्ने मौका दिने गरेका छन् । 

अहिले क्लब हाउसमा पत्रकारको जमात पनि निकै राम्रो देखिन्छ । कुनै समसामयिक विषयवस्तुलाई लिएर २ घण्टासम्म बहस गर्न सकिने भएकाले यो प्लेटर्फम निकै प्रभावकारी भएको पाइन्छ । ३ दिन अघि सरकारले ल्याउन खोजेको पत्रकार परीक्षाका बारेमा पनि यहाँ निकै बेर बहस चल्यो । स्वास्थ्य पत्रकारको अन्तर्राष्ट्रिय बहस पनि यहाँ चलेको थियो । 

कोही जमात यहाँ अन्ताक्षरी खेलेर समय बिताउँछन् भने कोही व्यक्ति यहाँ पढाइको जमात बनाई परीक्षाको तयारी गर्छन् । यहाँ लेनिनवाददेखि मार्क्सवाद सम्मको बहस चल्छ । भाषा साहित्य, गीत संगीतदेखि प्रेमसम्मका हरेक कुरा क्लब हाउसमा हुन्छन् ।

क्लब हाउसमा भर्खरै अभ्यस्त हुन थालेकी कास्कीकी विनिता मगर यसमा निकै रुचि राख्छिन्  । उनी अहिले स्नातक दोस्रो वर्षकी विद्यार्थी हुन् । उनी भन्छिन्, ‘क्लब हाउसमा एकदमै मनपर्ने ग्रुपहरू छन् । आफैंले पनि ग्रुप बनाउन मिल्छ । त्यसैले मलाई यो साह्रै मन पर्छ ।’ 

उनी यसमा खेलकुदसम्बन्धी ग्रुप देख्ने बित्तिकै जोडिन पुग्छिन् । महिला खेलकुद पत्रकार तथा महिला खेलाडीको कुरा सुन्दा व्यवस्थापन विषय छोडेर पत्रकारिता गर्न मन लागेको उनी बताउँछिन् ।

त्यस्तै अर्का प्रयोगकर्ता हुन्, दिलिप विश्वकर्मा । उनी तनहुँको दमौलीमा बस्छन् । उनको गायनप्रति निकै रुचि छ । बेलुका हुने म्युजिकल नाइट्स ग्रुपमा उनी सदैव जोडिन्छन् । रातिको ९:४५ बाट सुरु हुने उक्त समूहमा गायन कला भएका व्यक्तिहरूले आफ्नो प्रस्तुति दिन्छन् । कोही वाद्यवादनसहित उक्त कार्यक्रममा सहभागी हुन्छन् भने कोही गाउँछन् मात्रै ।

उनी भन्छन्, ‘यस कार्यक्रममा बस्दा दिनभरिको थकान मेटिन्छ । दिनभरि के-के काममा व्यस्त भए पनि ९:४५ पछि यो ग्रुपमा जोडिन्छु ।’

कसरी प्रयोग गर्ने क्लब हाउस ?

प्ले स्टोर तथा एप स्टोरबाट क्लब हाउस एप डाउनलोट गरेर आफ्नो फोनमा इन्स्टल गर्नुपर्छ । फोन नम्बर हानेर म्यासेजमा आएको कोड एपमा इन्पुट गरेपछि यो एप सञ्चालनमा आउँछ । 

यस प्लेटफर्ममा कोही मान्छेलाई कुनै पनि कुरामा रुचि छ भने त्यस ग्रुपमा जोडिन मिल्छ । कोही पनि व्यक्तिलाई कुनै पनि ग्रुपमा जोडिन कसैको अनुमति चाहिँदैन । तर, आफ्नो भनाइ व्यक्त गर्न भने ग्रुपको मोडरेटर अथवा सञ्चालकको अनुमतिको आवश्यकता पर्छ । यस ग्रुपमा तीन खण्ड हुन्छ । सबैभन्दा माथिको सेक्सनमा मोडरेटर अथवा सञ्चालक र वक्ताहरू हुन्छन् । त्योभन्दा तल मोडरेटर अथवा वक्ताले फलो गरेका व्यक्ति हुन्छन् भने सबैभन्दा तल्लो तहमा लिसनर अथवा सुन्ने श्रोता हुन्छन् ।

यो एप अहिले नेपालमा पनि ट्रेन्डिङमा आएको पाइन्छ । हाल मान्छेहरू फेसबुक इन्स्टाग्रामभन्दा पनि बहसका लागि भने यो एप प्रयोग गर्ने गरेका छन् ।

  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार २०:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया