ओलीको वक्तव्यले एमाले मिल्न सक्दैन, भ्रममा नपरे हुन्छ : रामकुमारी झाँक्री

नेकपा एमालेको माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकाल्दैमा पार्टी मिल्न नसक्ने बताएकी छन्। 

प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको संरचनालाई नवौँ महाधिवेशन अनुसार २०७५ जेठ २ मा लैजान तयार रहेको ६ बुँदे वक्तव्य आइतवार राति निकालेपछि झाँक्रीले यस्तो बताएकी हुन्। 

नेपाल समूहमा ओलीकी सबैभन्दा कठोर आलोचक उनले सुरुमा वक्तव्य पढ्दा खुसी लागे पनि यसलाई एक पक्षीय भनेकी छन्। 'भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढें', उनले भनेकी छन्, 'पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उद्धेश्यका लागि थियो र एकता भंग पनि खास उद्धेश्य पूरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ।'

उनले यदि ओलीले साँच्चिकै एकता चाहेको भए माधवकुमार नेपालसहितको संयुक्त वक्तव्य आउनुपर्ने जिकिर गरेकी छन्। 'अब रह्यो नेकपा एमालेको एकताको कुरा : यो साँच्चै एकताको लागि गरिएको भए दुई पक्षबीच सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो', उनले भनेकी छन्, 'एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन… झुक्याउन, अल्मल्याउन र मिडिया 'कन्जम्सन'को लागि हो भनेर बुझ्नुपर्छ।

उनले ओलीको वक्तव्यको बुँदा नम्बर ४ मा उल्लेखित कुरामा पनि आपत्ति जनाएकी छन्। 'अझ गम्भीर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र?', उनले सोधेकी छन्, 'लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन, संसद पुन:स्थापना गर्न हामी अदालतको ढोका ढक्ढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चितताबिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन।'

ओलीको यो वक्तव्यले पार्टीलाई एक हुन नदिने उनको जिकिर छ। 'यो एक प्रकारले पार्टी एकता हुन नदिने  डिजाइनका साथ आएको वक्तव्य हो', उनले थपेकी छन् 'यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिबारे हाम्रो पार्टीको स्थायी कमिटीको बैठक बसी संस्थागत धारणा दिइनेछ।'





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार २३:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया