विश्वकप छनोट : कुवेतमा जोर्डनसँग भिड्दै नेपाल
फाइल तस्बिर

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत आज नेपाल र जोर्डन भिड्दै छन् ।

नेपाली समयअनुसार राति पौने १० बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा जोर्डनविरुद्ध मैदानमा उत्रिँदा नेपालको लक्ष्य जित नै हुनेछ ।

नेपाल जोर्डनविरुद्ध जित निकाल्दै सिधै एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावनालाई जीवित राख्ने दाउमा हुनेछ । उसलाई छनोटको पहिलो भेटमा व्यहोरेको पराजयको बदला लिने अवसर पनि छ ।

अघिल्लो खेलमा चाइनिज ताइपेइलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । तर, उसलाई आफूभन्दा बलियो जोर्डनविरुद्ध जित हात पार्न सहज भने हुने छैन ।

नेपाल फिफा वरीयताको १७१औँ स्थानमा रहँदा जोर्डन ९५औँ स्थानमा छ । जोर्डन पनि नेपाललाई हराउँदै समूहको दोस्रो स्थानमा उक्लिने प्रयासमा हुनेछ ।

नेपाल र जोर्डनले हालसम्म ३ खेलमा एक अर्काको सामना गर्दा जोर्डनले २ खेल आफ्नो पक्षमा पर्दा १ खेल बराबरीमा सकिएको छ ।



यी दुईले पहिलोपटक सन् २०११ जुन २३ मा एक अर्काको सामना गरेका थिए । विश्वकप छनोट अन्तर्गत भएको उक्त खेलमा जोर्डनले ९–० को सहज जित दर्ता ग¥यो । 

विश्वकप छनोट अन्तर्गत नै सन् २०११ जुन २८ मा भएको खेल १–१ को बराबरीमा सकियो । नेपालका लागि भरत खवासले गोल गरेका थिए ।



विश्वकप तथा एसिया कपको संयुक्त छनोट अन्तर्गत भएको पहिलो भेटमा जोर्डन ३–० ले विजयी भएको छ ।

जोर्डन विरुद्धको ३ खेलमा नेपालले १३ गोल खाँदा १ गोल मात्र फर्काउन सकेको छ । नेपालले सोमबारको खेलमा गोलको खडेरीलाई तोड्न सक्ने अनुमान लगाउन सकिन्छ ।
 
जोर्डनपछि नेपालले जुन ११ मा छनोटको आफ्नो अन्तिम खेल अस्ट्रेलिया विरुद्ध खेल्ने छ ।
 
समूह ‘बी’ मा शतप्रतिशत जित निकालेको अस्ट्रेलिया ५ खेलबाट १५ अंकका साथ शीर्ष स्थानमा रहँदा कुवेत ६ खेलबाट र जोर्डन ५ खेलबाट समान १० अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

६ खेलमा ४ हार र २ जित निकालेको नेपाल ६ अंकका साथ चौथो स्थानमा रहँदा जितविहीन चाइनिज ताइपेई अन्तिम स्थानमा छ । 

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार ७:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया