एमाले मिलाउने ओलीको प्रस्तावपछि प्रचण्डसँग नेपालको वार्ता
कोटेश्वरस्थित निवासमा दुई नेताबीच भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजान गरेको प्रस्तावको भोलिपल्टै माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

दाहाल र नेपालबीच कोटेश्वरस्थित निवासमा सोमबार बिहान भेटवार्ता भएको हो। कोटेश्वरमा भएको भेटवार्तामा ओलीले आइतवार राति अघि सारेको एमालेको एकताको ६ बुँदे प्रस्तावमाथि छलफल भएको खुलेको छ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू २०७५ जेठ २ को अवस्थामा फर्किन तयार रहेको बताउँदै आइतबार राति ६ बुँदे प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावपछि नेपाल पक्षका नेताहरु दुई धारमा विभाजित भएका छन्। 

पुस ५ मा संसद विघटन भएपछि प्रचण्डसँग नजिकिएका नेपाल फागुन २३ मा एमाले ब्यूँतिएपछि पनि एमालेतिर फर्किन सकेका छैनन्। ओलीसँग मिल्न नसकेका उनले समानान्तर कमिटी बनाएर गतिविधि गरिरहेका छन्। 

नेपालले फागुन २३ यता मात्रै प्रचण्डसँग कम्तिमा १७ पटक भेट गरिसकेका छन्। ओलीले मिल्ने प्रस्ताव गरेपछि उनले प्रचण्डलाई बोलाएर निर्णय लिने गरेका छन्। यो पटक पनि नेता नेपालले यसैबारे प्रचण्डसँग कुरा गरेका हुन्। फागुन २३ मा अलग भएका प्रचण्ड-नेपालको भेट संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्दा भेट भएको थियो। 

प्रचण्डसँग मिल्न आफ्नो पक्षमा पर्याप्त नेता कार्यकर्ता नहुँदा नेपालले नयाँ पार्टी पनि दर्ता गराउन सकेका छैनन्। एमाले फुटाउन ४० प्रतिशतको हैसियत नपुगेपछि उनले ओलीलाई अफ्ठ्यारोमा पार्न प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्चमा देउवाले हालेको रिटमा पनि हस्ताक्षर गरेका छन्।



ओलीले आइतवार प्रस्तुत गरेको एकता प्रस्तावमा आफूलाई प्रधानमन्त्री पदबाट हटाएर विपक्षी नेता देउवालाई प्रधानमन्त्री बनाउन शीतल निवास र सर्वोच्च अदालतमा दिइएको निवेदनबाट एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनुपर्ने बताएका छन्। 



  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १२:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया