प्रदेश २ को बजेट स्वास्थ्यमा केन्द्रित हुने : मन्त्री यादव

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित हुने बताएका छन् । 

मन्त्री यादवले प्रदेशसभाको सोमबारको छैटौँ अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु छलफलका लागि प्रस्तुत गरेका हुन् ।

सो विनियोजन विधेयकमा विश्वव्यापी रुपमा फैलिएको कोरोनो महामारीको दोस्रो लहरले पारेको प्रभावलाई नियन्त्रण गर्दै प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन आर्थिक वर्ष ०७८–०७९ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीति समावेश गरिएको छ ।
 
प्रदेशसभामा प्रस्तुत गरिएको विधेयकमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा हाल देखिएको कोरोना महामारी, नियन्त्रण गर्न तथा आमनागरिकहरुको जिउ–ज्यानको रक्षाको लागि चालेको कदमले संघीयताको महत्वलाई स्थापित गरिएको उल्लेख छ ।
 
विधेयकमा कोरोना महामारी नियन्त्रणको लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण देशको समग्र अर्थ व्यवस्थामा गम्भीर असर परेको अवस्थामा प्रदेश सरकारसमेत राजस्व संकलनमा संकुचन आएको उल्लेख गरिएको छ । यस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविध गतिशील बनाउनुपर्ने समेत मन्त्री यादवले प्रस्तुत गरेका छन् । 

मुलुकको पन्ध्रौँ आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्य, राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनतासमक्ष गरिएका प्रतिबद्धतालाई पूरा गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट लक्षित हुने मन्त्री यादवले स्पष्ट गरे । 

प्रदेश सरकारबाट विगतका वर्षका महत्वकांक्षी प्रादेशिक योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी आर्थिक वर्ष ०७८–०७९ को बजेट केन्द्रित रहने उल्लेख छ ।

मन्त्री यादवले शिक्षा, कृषिको बजारीकरण, भू–उपयोग नीति, दुग्ध उत्पादनमा वृद्धि, भूमिको अभिलेख व्यवस्थापन, सिँचाइ सुविधा, उद्योगको स्थापना, प्रवर्धन र विकास, प्रदेशको मौलिक संस्कृतिको संरक्षण र सम्बद्र्धन, धार्मिक पर्यटनको विकास, आवासविहीनलाई आवासको व्यवस्था गर्ने गरी बजेट ल्याउन लागिएको बताए ।



बैठकमा नेकपा एमाले संसदीय दलका नेता सत्रुघन महतो, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद यादव, जसपाका संसदीय दलका उपनेता रामअशिष यादव तथा सांसद सावित्रीदेवी साहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेशसभाको अर्को बैठक जेठ २५ गते मंगलबार दिउँसो १ बजे पुनः बस्ने सभामुख सरोजकुमार यादवले जानकारी दिए । भोलिको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने बताइएको छ ।



  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १८:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया