माधव-प्रचण्डले भने : हस्ताक्षरमा अडिग छौँ, देउवाको प्रस्ताव :चुनावी गठबन्धन बनाऊँ
महत भन्छन् : केन्द्रको गठबन्धन प्रदेशमा पनि कायम हुन्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार राति गरेको ६ बुँदे एकता प्रस्तावपछि माधवकुमार नेपालले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कोटेश्वरमा भेटे। 

आफ्नै निवासमा प्रचण्डसँग सम्वाद गरेपछि मात्रै नेता नेपालले आफू पक्षी स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक राखे। उक्त बैठकमा ओलीको ६ बुँदे प्रस्ताव कपटपूर्ण भन्दै यसको प्रलोभनमा नपर्ने निचोड माधव पक्षले निकाल्यो।

यदि एकता कायम गर्ने हो भने ‌ओलीले प्रतिनिधिसभा विघटनको निर्णयबाट पछि हट्नुपर्ने अडान माधव पक्षले लिएको छ। अर्थात् ओली संविधानको धारा ७६ (४) मा फर्किएर प्रतिनिधिसभा पुन:स्थापना भए मात्रै मिल्न सकिने अड्को माधव पक्षले राखेको हो। 

स्थायी कमिटी बैठक सकिएलगत्तै नेता नेपाल कोटेश्वर निवासबाट सिधै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे। जहाँ उनी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच सोमबार अपरान्ह वार्ता भएको छ। 

उक्त वार्ता क्रममा नेता नेपालले देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो पक्षबाट दिइएको हस्ताक्षर फिर्ता नहुने कुरा राखे। उनले सर्वोच्च अदालत पुगेर देउवालाई प्रधानमन्त्री बनाउन दिइएको हस्ताक्षरमा आफू अडिग रहेको भन्दै विश्वास जित्न खोजे। 

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले पनि देउवालाई ढुक्क हुन आग्रह गर्दै आफूसहित माधव नेपालले पनि हस्ताक्षर फिर्ता नगर्ने प्रतिवद्धता जनाए। कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार तीन नेताबीच राष्ट्रिय राजनीतिसहित प्रदेश २ र सुदूरपश्चिम प्रदेश सरकार टिकाउनेबारे कुरा भएको छ।



'आज तीन नेताबीच प्रदेश दुई र सुदूरपश्चिम प्रदेशको सरकार टिकाउनेबारेमा छलफल भएको छ', देउवाले फरकधारसँग भने, 'संसद विघटनबारे सर्वोच्चमा मुद्दा रहेकाले कुनै कुरा भएन।'

पछिल्लो समय विपक्षी दलको गठबन्धनले केन्द्र र प्रदेशमा आफ्नो सरकार गठनका लागि गृहकार्य गर्दै आएका छन्। त्यही अनुसार कर्णाली प्रदेशमा २ मन्त्रीसहित कांग्रेस देशमै साढे ३ वर्षयता पहिलो पटक सत्तामा पुगेको छ। कांग्रेस प्रदेश २ मा पनि केही दिनमै सत्ताधारी हुने तयारीमा छ। त्यहाँ माओवादीबाट पनि मन्त्री बन्ने सम्भावना छ।  



देउवाका अनुसार केन्द्रमा बनेको कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको उपेन्द्र यादव, माधवकुमार नेपाल र जनमोर्चा नेपालबीचको गठबन्धनलाई प्रदेशमा पनि कायम राख्दै अघि बढ्नेबारे नेताहरुबीच कुरा भएको छ।  

'केन्द्रीय समीकरण अनुसार नै प्रदेशमा पनि अघि बढ्ने सल्लाह भएको छ', उनले भने, 'प्रदेश २ र सुदूरपश्चिम सरकारको पक्षमा एक भएर प्रस्तुत हुनेबारे नेताहरुले सल्लाह गर्नु भएको छ।'

देउवाको प्रस्ताव

नेपाल-दाहालले आफ्नो पक्षमा प्रतिवद्धता जनाएपछि कांग्रेस सभापति देउवाले अहिले बनेको यो गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने प्रस्ताव गरेका थिए। कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले फरकधारलाई बताए अनुसार तीन नेताबीच चुनावसम्मका लागि गठबन्धन बनाउने गरी छलफल भएको छ।

'आजको छलफलमा प्रतिनिधिसभा विघटनविरुद्ध बनेको मोर्चाबन्दीलाई कायमै राख्न नेताहरु सहमत हुनु भएको छ। प्रचण्ड र माधव नेपालले यसबारे आफ्नो प्रतिवद्धता दोहोर्‍याउनु भएको छ', महतले भने, 'हाम्रा सभापतिजीले अहिले बनेको यो गठबन्धनलाई भविष्यसम्म लैजाने गरी छलफल अघि बढाउन प्रस्ताव गर्नु भएको छ। आगामी चुनावसम्म पनि यो सहकार्यलाई निरन्तरता दिनेबारेमा सभापतिजीले कुरा अघि बढाउनु भएको छ।'

एमालेबाट निष्कासित नेता नेपाल पनि ओलीसँग कुरा नमिलिरहेको अवस्थामा नयाँ पार्टी खोलेर माओवादी केन्द्र र कांग्रेससँग मिलेर गठबन्धनको योजनामा छन्। उनले त्यही रणनीति अनुसार नयाँ पार्टी दर्ताका लागि आफूनिकट नेताहरुलाई निर्देशन दिइसकेका छन्। 

आइतबार एमाले अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्चमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका थिए। त्यही आशंका मेट्न दाहाल र नेपाल देउवानिवास पुगेका थिए। 

नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले हस्ताक्षर फिर्ता नहुने, बरु ओलीले विघटनको निर्णय फिर्ता लिनुपर्ने प्रस्ताव गरेको थियो। देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा खनाल-नेपाल समूहका २३ सांसदको हस्ताक्षर छ। 

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार २०:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया