नेपालसँग सिमाना जोडिएको बिहारमा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन हटाउने घोषणा गरिएको छ। तर त्यहाँ रात्रि कर्फ्यू जारी रहनेछ। मुख्यमन्त्री नितिश कुमारले कोरोनाको घट्दो संक्रमण दर देखेर यो निर्णय लिएको बताएका छन्।
बिहार सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि पाँच मे यता लकडाउन गरेको थियो। 'लकडाउनबाट कोरोना भाइरस संक्रमणमा कमी आएको छ। अतः लकडाउन समाप्त गरिएको छ', मुख्यमन्त्री नितिशकुमारले भनेका छन्, 'तर राति सात बजेदेखि बिहान पाँच बजेसम्म रात्रि कर्फ्यू जारी रहनेछ। ५० प्रतिशत उपस्थितिसहित सरकारी र निजी कार्यालय साँझसम्म खुल्नेछन्। दोकान पनि साँझ ५ बजेसम्म खुल्नेछन्।
उनले अनलाइन शिक्षण कार्य जारी रहने बताएका छन्। अब निजी सवारीसाधन सञ्चालनमा आउनेछन्। यो व्यवस्था अघिल्लो एक सातासम्म रहनेछ। तर उनले अझै पनि भिडबाट जोगिन बिहारबासीलाई भनेका छन्।
बिहारमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि पहिलो पटक ४ मेदेखि १५ मेसम्म लकडाउन गर्ने निर्णय लिइएको थियो। तर संक्रमण बढ्दै गएपछि पहिलो पटक २५ मेसम्म लकडाउन थपियो। त्यसपछि फेरि ३१ मेसम्म थपिएको थियो। अन्तिममा लकडाउन ८ जुनसम्म थपियो।
बिहारमा कोरोना भाइरस संक्रमणका कारण सोमवार ४३ जनाको ज्यान गयो। अहिलेसम्म त्यहाँ ५४ सय २४ जनाले ज्यान गुमाएका छन्। प्रदेशमा अहिले पनि ८२ सय ३० जना कोरोना संक्रमित उपचाररत छन्। अहिलेसम्म त्यहाँ जम्मा ७ लाख १३ हजार ८७९ जना संक्रमित भएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।