दीपक पोखरेल : सुपारी तस्करीका नाइके

नेपालमा आवश्यक नहुँदानहुँदै पनि तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारत पठाउने गिरोह अहिले सक्रिय भएको छ । यो गिरोहले सुपारी आयात र निर्यातमा अरुलाई बन्देज लगाउने, सरकारी कर्मचारी र नेताहरुसँग सेटिङ मिलाउने काम गरिरहेको छ ।

पछिल्ला वर्षहरुमा सुपारी तस्करीको नाइकेका रुपमा काम गरिरहेका छन्, दीपक पोखरेल । सौर्य एयरलाइन्सका प्रमाेटर तथा अध्यक्षसमेत रहेका पोखरेलकै नेतृत्वमा नेपालबाट भारतमा सुपारी तस्करी भइरहेको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसको निकासी तथा पैठारीमा रोक लगाइसक्दा पनि पोखरेलको नेतृत्वमा सन्चालित गिरोहले यसमा काम अगाडि बढाइरहेको छ ।

‘नेता तथा कर्मचारीलाई म सेटिङ मिलाउँछु’ भन्दै पोखरेलले यसमा संलग्न अन्य व्यापारीसँग पैसा उठाउने गरेको र उनी स्वयं पनि यसमा लागिरहेको स्रोत बताउँछ ।

इण्डोनेसिया, थाइल्याण्ड तथा मलेसियाबाट सुपारी नेपाल ल्याएर वैध र अवैध रुपमा भारत सुपारी तस्करी गर्ने खेलमा दीपक पोखरेललाई साथ दिइरहेका छन् झापाका केही व्यापारीहरु । स्रोतका अनुसार यसमा अग्रस्थानमा आउँछन् झापाका प्रदीप मित्तल, शंकर अग्रवाल, श्याम अग्रवाल, तान्वी ट्रेडर्स, श्यामजी सप्लायर्स तथा सांघाई ग्रुप पनि ।

विराटनगरका प्रदीप कुमार मुरारका, दिनेश राठी, झापाका गोविन्द सरिया समूहले पनि पोखरेललाई यो तस्करीको काममा सहयोग गरिरहेका छन् ।



पोखरेलले यो गलत काममा कति आश्वस्त बनाइसकेका छन् भने अहिले सुपारीको निकासी तथा पैठारी रोक हुँदा पनि झापाको तान्वी ट्रेडर्स र श्यामजी सप्लायर्स एण्ड ट्रेडर्सले एलसी खोलिसकेका छन् । कोलकाता बन्दरगाहले सार्वजनिक गरेको सामानको म्यानिफेस्टोमा तान्वी र श्यामजीले ल्याउन लागेको सुपारीको सूची रहेको छ । 

तान्वीले चार हजार र श्यामजीले ६ हजार टन सुपारी आयात गर्नका लागि आवेदन हालेका छन् । दुवै कम्पनी झापाका व्यवसायी गोविन्द सारीया समुहको हो ।



यो समूह र यी व्यापारीसँग मिलोमतोसहित पोखरेलले यसलाई गोप्य राख्नसमेत सहयोग गरेका छन् । त्यसैले विभागले दिएको अनुमतिमा पनि यसलाई गोप्य राखिएको छ । विभागका महानिर्देशक प्रकाश पौडेल पनि उनीसँग मिलोमतोमा छन् । ‘कसलाई कति ल्याउन दिइएको हो भन्नेबारे खुलाउन मिल्दैन,’ फरकधारसँग उनले भने ।

स्रोेतका अनुसार यसपटक सुपारी आयात तथा निर्यातमा झापा बिर्तामोडकै प्रदीप मित्तलले १० हजार मेट्रिक टन आयात गर्ने अनुमति पाएका छन् । विराटनगरमा प्रदीपकुमार मुरारका र दिनेश राठीले २ हजार ५ सय मेट्रिक टनका दरले आयात गर्ने अनुमति पाएको स्रोतको दाबी छ ।
 

मित्तल, सरिया, मुरारका र राठी । यी चारै जना दीपक पोखरेल निकट हुन् । स्रोतका अनुसार पोखरेल नै यो सब सेटिङ मिलाएका हुन् । कोटाको २५ हजारमध्ये २० हजार टन आयात अनुमति पोखरेलको निकट व्यवसायीले मात्रै पाएकाले अरु सुपारी कारोबारी झन् अन्योलमा छन्, यसबारे गुनासो गरिरहेका छन् । 

यसबर्ष तेस्रो मुलकबाट सुपारी आयात गर्न इच्छा देखाउदै ८५ वटा कम्पनीले वाणिज्य बिभागमा निवेदन दिएका थिए । 

सुपारी कारोबारमै संलग्न एक व्यापारीले यस वर्ष पोखरेलले झन् ठूलो खेल खेलेको र सेटिङ मिलाएर काम गरेको बताएका छन् । 

तेस्रो मुलुकबाट नेपाल आएको सुपारी भारतमा लैजान चाहिँ भारतीय व्यापारी नारायण अग्रवाल अगाडि छन् । भारतको पानीट्याङ्कीमा बस्दै आएका उनले पनि पोखरेलसँगको सम्बन्ध बनाएरै यसमा अग्रसर भएका हुन् ।

भारतको पश्चिम बंगाल, बिहार लगायतका क्षेत्रमा सुपारीको माग ठूलो रहेको छ । भारतीय कानुन र भारत सरकारको कडाइका कारण तेस्रो मुलकुबाट सुपारी ल्याउन नसकेपछि नारायण अग्रवालले नेपाली कारोबारीसँग मिलेर सुपारी भारत लग्दै आएका हुन् ।

एकातिर सौर्य एयरलाइन्स सन्चालन गरिरहेका दीपक पोखरेल यस्तै बिचौलिया र अवैध काममा लागिरहेका छन् । सुपारी तस्करीमा सबैभन्दा बढी भूमिका खेलेका पोखरेल चाहिँ आफूले सरकारले दिएको अनुमतिको आधारमा सुपारी आयात र निर्यात गरेको बताउँछन् । यस विषयमा उनी आफूलाई कसैले रोक्न नसक्ने र सेटिङ मिलाइसकेकाले अब कसैले रोक्न नसक्ने भन्दै अन्य व्यापारीलाई कन्भिन्स गराइरहेका छन् ।

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १७:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया