#farakक्षमता
जाे अाफ्नाे क्षमता प्रष्टसँग देखिरहेकी छिन्

केही अघिसम्म मेनुका पौडेल एउटा सानो क्षेत्रफलमा सानातिना प्रशंसाहरुमा मात्र सिमित थिइन् । उनी त्यति बेला जे गर्थिन्, अहिले पनि त्यही गर्छिन् । तर, अब उनको प्रशंसाको क्षेत्रफल फराकिलो भएको छ, उनका लागि स्टेजहरु बन्न थालेका छन् ।

मेनुका पौडेल अर्थात् गायिका मेनुका पौडेल ।

झापाको हल्दिवारी–४ मा मेनुकालाई एक वर्षअगाडिसम्म अत्यन्त थोरैले मेनुका मात्रै भनेर चिन्थे । 

नेपालमा गायन फ्रेन्चाइजी नेपाल आइडल सुरु भयो । मेनुकाले त्यसमा भाग लिइन् । सफलताले उनलाई साथ दिँदै गयो । अन्तिम ११ सम्म पुगेकी मेनुकाले नेपाल आइडलको ट्रफी त देखिनन् तर नेपाली सांगीतिक क्षेत्रले मेनुकालाई पहिचान गर्यो ।

एघारौं राउन्डसम्म पुग्दा मेनुकाको चर्चाको चरण बेग्लै थियो । एघारौं राउन्डबाट बाहिरिएपछि उनको फेरि एकपटक चर्चा चल्यो ।

अहिले त उनी चर्चाकै वरपर छिन् ।



तर, अबको केही समय पर्खनु पर्छ, मेनुकाको चर्चा फेरि अर्को चरणमा हुनेवाला छ ।

किनकि मेनुका भारतीय टिभी रियालिटी सोकी प्रतिस्पर्धी भइसकेकी छिन्, उनलाई भारतीय च्यानलमा केही समयपछि देख्न सकिने छ । त्यो पनि जि टिभीमा । चर्चित गायन रियालिटी सो ‘सारेगमप’मा ।



त्यसका लागि उनी भारत ‘गइवरी’ कार्यक्रमका प्रि–अडिसन सुट गरिसकेकी छिन् । अब केही दिनमा टिभीमा आउने एपिसोडकै सुटिङका लागि लाग्दैछिन् । 

भारतीय च्यानलको रियालिटी सोसम्म मेनुकालाई पुर्याएको चाहिँ नेपाल आइडलकै प्लेटफर्मले हो ।

योवाहेक उनका अरू उपलब्धि त अहिले ‘गनिसाध्य’ छैन ।

‘यो सब मैले स्रोता÷दर्शकको माया र नेपाल आइडलको प्लेटफर्मबाट पाएकी हुँ,’ अत्यन्त व्यस्तताबीच केही दिनअघि काठमाडौंको अनामनगरमा भेटिएकी मेनुकाले भनिन्, ‘सारेगमपको स्टेजमा म नेपाली हुँ भन्न पाउँछु भन्ने कल्पनाले मात्र पनि खुसी दिएको छ । यो मेरालागि ठूलो सफलता हो ।’

अहिले सफलताको उज्यालो पहिल्याएर त्यही गोरेटोमा हिँडिरहेकी मेनुकाका लागि २०५५ सालपछिका केही वर्ष सहज थिएनन् । जीवनमा दुःख र सुख दुवैको स्वाद लिएकी मेनुकाले त्यति बेला निख्खर अँध्यारो र चहकिलो उज्यालोवाहेक अरुको भेद खुट्याउन सक्दिनथिन् ।

उनका लागि साँझ मै रात परिसकेको हुन्थ्यो, विहान हुन मध्यदिन कुर्नुपथ्र्यो । उनका अगाडि पर्ने जो कोहीको आकृति उनी छुट्ट्याउन सक्छिन् तर त्यो आकृतिको वर्णबारे सोध्यो भने मेनुका विगतमा फर्किन्छिन् ।

झापाको हल्दिवारीमा टिकाराम र पम्फादेवीकी पहिलो सन्तानका रुपमा जन्मिएकी मेनुकाको आँखामा समस्या भएको परिवारले उनी जन्मिएको केही वर्षमा नै थाहा पायो ।

उनको दृष्टि फर्काउने प्रयास गरियो । तर, सम्भव भएन ।

त्यसपछि मेनुकाका लागि अप्ठ्यारा दिनहरु सुरु भए ।

अरु सामन्य बालबालिका पढ्ने विद्यालयमा उनले पढ्न पाइनन्, झापामा ब्रेललिपीको माध्यमबाट पढाइ हुने विद्यालय छन् भन्ने उनको परिवारलाई पनि थाहा थिएन ।

‘ब्रेललिपी माध्यमबाट पढाइ हुने स्कुल खोज्न आमा र मामाले निकै कोसिस गर्नुभयो,’ उनले केही दिनअघि सम्झिइन्, ‘मेरो आँखा कमजोर भए पनि मैले पढाइलाई चाहिँ निरन्तरता दिनु पर्छ भन्ने घरमा धारणा बनिसकेको थियो ।’

निकै लामो प्रयासपछि उनका लागि स्कुल भेटियो । मेनुकाले कखरा गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालयमा पढ्ने भइन् । झापामा ब्रेललिपीको माध्यमबाट पढाइ हुने दुई विद्यालयमध्ये एक थियो यो ।

मेनुकाले पढ्न त पाइन् । तर, उनले आफ्नो परिवार छोड्नु पर्ने भयो । स्कुलको होस्टलमा नै बसेर मेनुकाले पढ्नु पर्ने भयो ।

केही गुमाउनु सायद केही पाउनु पनि हो; मेनुकाले घरमै बसेर पढ्दा पाउने आमाको न्यानो काख गुमाइन्; घरको भान्सामा पाक्ने मीठोमसिनो गुमाइन्; छरछिमेकीको माया गुमाइन्, तर उनले पाइन् एउटा छुट्टै संसार जसले उनको आजको बाटो तय गरेको छ ।

स्कुल पढ्नका लागि मेनुकालाई उनका मामाले होस्टलसम्म पुर्याए । 

त्यो दिन होस्टलमा सांगितिक माहोल थियो । विद्यार्थीहरु मादल, हार्मोनियम, तबलाका धुनमा गुनगुनाइरहेका थिए ।

ती वाद्यवादनका सामग्रीबाट आएको आवाजले मेनुकाको मनलाई तरङ्गित बनायो । 

मेनुकाले त्यही दिन छुट्टै संसारमा पाइला राखिन् । त्यसपछि मेनुकाको सोच्ने शैली, व्यवहार र पर्फमेन्समा परिवर्तन आउन थाल्यो । र, मेनुकाको दैनिकी पनि बदलियो ।

‘स्कुलमा औपचारिक पढाइमात्र हुँदैनथ्यो,’ उनी ती सुनौला दिन सम्झिन्छिन्, ‘मानिसहरुसँग कसरी घुलमिल हुने, व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापमा कसरी सहभागि हुने सबै कुरा मैले स्कुलमा सिक्न थालेँ ।’

होस्टेलमा मेनुकाहरु बिहान चार बजे नै उठ्नु पथ्र्यो । उठेपछि उनी सांगीतिक माहोलमा प्रवेश पाइहाल्थिन् ।

विहानमात्र होइन, होस्टलमा सांगीतिक माहोला साँझ पनि हुन्थ्यो । मेनुका विस्तारै यही माहोलमा रमाउन थालिन्, साँझविहान साधनामा लाग्न थालिन् ।

मेनुकाहरुलाई त्यहाँ अनिल फागुले संगीत सिकाउँथे । फागुसँगै मेनुकाले संगीतको चार वर्षे कोर्ष गरिन्, त्यसमा राम्रो गरिन् ।

एकातिर मेनुकालाई संगीतसँगको सामिप्यता बानी बनिसकेको थियो भने अर्कोतिर उनलाई वरपरका सबैले हौसाउँथे– सानैमा यस्ती छे, पछि गएर झन् कति राम्री हुनी होली ?

सबैको माया, प्रेरणा र यो हौसलाका कारण मेनुकाले संगीतको बाटो हिँड्ने प्रण गरिन् ।

त्यही प्रण, आफूमाथिको आत्मविश्वासका कारण मेनुका यो ठाउँसम्म आइपुगेकी हुन् ।

स्कुलमा हुँदा मेनुका जुन कार्यक्रममा जान्थिन्, त्यहाँ प्रस्तुति दिन्थिन् । विभिन्न भजन समारोहहरुमा पनि उनको सहभागिता भइहाल्थ्यो । अनि प्रतियोगिताहरुमा उनी अरु प्रतियोगीलाई पछाडि पार्थिन् ।

त्यसैले पनि उनले तय गरिन्, ‘अब म संगीत नै पढ्छु, यसैमा मेरो भविष्य छ ।’

संगीतप्रतिको प्रेम र यसको रहरले उनलाई काठमाडौंसम्म डोर्यायो । उनी संगीत पढ्नकै लागि काठमाडौं आइन् ।

‘काठमाडौंमा कहाँ बस्ने, कहाँ पढ्ने भन्ने कुरा झापामा नै बुझिसकेकी थिएँ,’ उनले भनिन्, ‘त्यही अनुरुप काठमाडौं आएँ, नेपाल नेत्रहीन संघको होस्टलमा बस्न थालेँ र सिर्जना कलेजमा संगीत पढ्न भर्ना भएँ ।’

काठमाडौंमा मेनुकाको एउटै ध्यान संगीत बन्यो ।

२०७२ सालमा रेडियो नेपालको आधुनिक गीत गायन प्रतियोगितमा सहभागी भइन् मेनुका । यो प्रतियोगिता मेनुकाको जीवनका लागि कोसेढुङ्गा सावित भयो ।
त्यसपछि उनको सांगितिक उडानले एउटै वेगमा अहिले अगाडि बढिरहेको छ ।

गत वर्ष उनले कलेजमा एक दिन सुनिन्– गायनमा एउटा ठूलो रियालिटी सो सुरु हुँदै छ । 

त्यसअघि उनले नेपाली तारलगायतका गायन प्रतियोगिताबारे सुनेकी थिइन् । अनि उनको मनमा लाग्यो– नेपाल आइडलमा म पनि जान्छु, मेरो कला देखाउँछु ।

काठमाडौंमा नै भएकाले नेपाल आइडलको काठमाडौं अडिसनमा गइन् मेनुका । उनलाई अडिसनस्थलसम्म जान मन्जुल चित्रकारले सहयोग गरे ।
मेनुका पहिलो राउन्डबाट पास भइन् । 

त्यसपछि मेनुका नेपाल आइडलको क्याम्पमा बसिन्, अन्य सहभागिहरुलाई आफूले जानेको कुरा सिकाइन्, उनीहरुबाट सिकिन् । जीवनमा नयाँ मोडमा पुगेकी थिइन् मेनुका ।

‘राम्रो गर्ने मनाशय बोकेर अगाडि बढ्नुपर्छ, राम्रो गर्दै जानुपर्छ, केही भएन भने पनि दुखी हुन्नँ,’ उनी प्रतिबद्ध छिन् । 

टप ११ सम्म पुगेकी मेनुकालाई त्यही नेपाल आइडलको स्टेजले डो¥याएर अब सारेगमपको स्टेजसम्म पुर्याउँदै छ ।

‘त्यसैले मैले देख्न सक्दिनँ भन्नेमा पछुतो छैन,’ उनी भन्छिन्, ‘बाहिरी संसार देख्न नसके पनि मैले आफ्नो प्रतिभा देख्न सकेँ, देखेँ ।’

  • प्रकाशित मिति : असोज २, २०७५ मंगलबार ११:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया