भदौमा होला नेपाली कांग्रेसको १४औँ महाधिवेशन?
लेखक भन्छन् : हामीसँग अर्को विकल्प छैन, तयारीमा जुटेका छौँ

सत्तारुढ दल एमाले विवादमा फसिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि संवैधानिक संकटमा फस्दै गएको छ। पार्टीको १४ औँ महाधिवेशन भदौसम्म नगरेमा पार्टीको दर्ता नै अवैधानिक हुने जोखिममा कांग्रेस पुगेको हो। 

कांग्रेसको विधान अनुसार २०७६ सालभित्रै १४ औँ महाधिवेशन भइसक्नुपर्ने हो तर आन्तरिक कलह संकटमा परेकाले समस्या बढ्दै गएको छ। आन्तरिक कलह समाधान नहुँदा कांग्रेसले कोरोना महामारीको बहानामा महाधिवेशन झण्डै दुई वर्ष पछाडि धकेलिसकेको छ। 

खासगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भावी नेतृत्वलाई लिएर बढिरहेको टकरावका कारण कांग्रेसले सुरुमा एक वर्ष यो कार्यसमितिको म्याद थपिसकेको छ। संवैधानिक व्यवस्था बमोजिम अर्को ६ महिना म्याद थपेर कांग्रेसले महाधिवेशन लम्ब्याइसकेको छ।

संवैधानिक व्यवस्था

विधानको व्यवस्था अनुसार तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसको वैधानिकतामै प्रश्न उठ्न थालेको छ। राजनीतिक दलसम्बन्धी प्रावधानको धारा २६९ उपधारा ४(ख) मा टेकेर अन्तिम पटक ६ महिनाका लागि म्याद बढाइएको छ।

उक्त धारामा लेखिएको छ,‘राजनीतिक दलले प्रत्येक पाँच वर्षभित्रमा महाधिवेशन गरिसक्नुपर्ने छ, यदि कुनै कारणवश गर्न नसकिएमा अर्को ६ महिना थपेर महाधिवेशन गर्नैपर्ने उल्लेख छ।’ 



यही धाराको व्यवस्था बमोजिम कांग्रेसले १४ औं महाधिवेशनका लागि ६ महिना थपेर अन्तिम कार्यतालिकामा भदौ पहिलो सातालाई राखेको छ। 

पार्टीको विधान र संविधान अनुसार यदि भदौमा महाधिवेशन भएन भने पार्टी नै खारेज हुने अवस्था आउँछ। त्यसैले कांग्रेसले जसरी पनि १४ औँ महाधिवेशन गराउने रणनीति बनाइरहेको छ। तर नेतृत्व हत्याउने होडबाजीका कारण महाधिवेशनअघि गरिसक्नुपर्ने कतिपय कार्यक्रम अझै हुन सकेका छैनन्।



सत्तारुढ एमाले आन्तरिक विवाद मिलाउन जुटिरहेका बेला कांग्रेसले महाधिवेशनका लागि क्रियाशील सदस्यतामा देखिएको विवाद र अन्य समस्याहरु समाधानमा जुटेको छ।

के गर्दैछ कांग्रेस ?

केन्द्रीय समितिले महाधिवेशनका लागि सार्वजनिक गरेको कार्यतालिका बमोजिम नै अहिले कांग्रेसले काम गरिरहेको छ। कार्यतालिका अनुसार काम हुन नसके पनि भदौमै महाधिवेशन टुंग्याउन वितरण भएको क्रियाशील सदस्यता फारम टुंगो लगाउने र अन्तिम नामावली प्रकाशनको काम कांग्रेसले गरिसकेको छ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समयमै महाधिवेशन हुने बताए। उनका अनुसार धेरै हदसम्म महाधिवेशनका लागि प्रक्रिया अगाडि बढिसकेको छ। 

लकडाउनले कार्यतालिका केही प्रभावित भए पनि भदौमा महाधिवेशन सक्ने तयारी भइरहेको लेखकले बताएका छन्। ‘केही जिल्लामा नयाँ सदस्यतालाई लिएर विवाद खडा भएको छ, जसलाई मिलाउने पनि प्रयास पनि भइरहेको छ', उनले भने, 'चाँडै विवाद मिलाएर सबै क्रियाशील सदस्यहरुको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइसकेको छ।’

लेखकका अनुसार अहिलेसम्म देशभरबाट संकलित ८ लाख सदस्यता फारम ‘इन्ट्री’भइसकेको छ। धेरै जिल्लामा लकडाउन रहेकोले अपेक्षाअनुरूप काम हुन सकेको छैन। तर ‘अनलाइन’ तथा ‘जुम’ लाई उपयोग गरेर का भइरहेको उनले बताए। 

लकडाउनले केही ढिला भए पनि क्रियाशील सदस्यतालाई अन्तिम रुप दिने प्रक्रियामा कांग्रेस पुगिसकेको उनले बताएका छन्। 'केही सदस्यको विवरणबारे उजुरी पनि परेको छ', उनले भने, 'ती उजुरीको छानबिन गरेर २/३ दिनभित्रै सल्टाउने तयारीमा लागेका छौँ।'

किन भयो ढिलो?

कार्यतालिका अनुसार कांग्रेसमा अहिलेसम्म क्रियाशील सदस्यता वितरण भइसक्नुपर्ने हो । तर आन्तरिक विवाद र कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले प्रभावित भएको लेखकले  बताए। 

यसका बावजुद पनि विभिन्न तरिका अपनाएर भदौमा महाधिवेशन गर्ने लक्ष्यसहित अन्य प्रक्रिया अगाडि बढाइएको उनले बताएका छन्। ‘क्रियाशील सदस्यताबारे अहिले सप्तरी, सिन्धुपाल्चोक, बारा र बर्दियासहित चार वटा जिल्ला विवाद छ', उनले भने, 'जसले तालिका केही पछाडि धकेलिएको हो । मिलाउने प्रयास भइरहेको छ। यसमा ढिलाइको कारण लकडाउन पनि हो।’ 

भदौमै कति सम्भव ?  

अहिलेसम्म क्रियाशील सदस्यतामै विवाद रहे पनि भदौमा जसरी पनि महाधिवेशन सम्पन्न गर्ने रणनीतिमा छ कांग्रेस। त्यसका लागि कांग्रेसले खाका समेत तयार पारिसकेको छ। 
कांग्रेस रणनीतिमा लक्ष्य अनुसार पहिला क्रियाशील सदस्य दर्ता गरेर त्यसमाथि परेका उजुरी हेर्दै २/३ दिनमै सबै निर्णय गर्ने तयारी भइरहेको छ।

सबै सदस्यता फाइनल भइसकेपछि वडादेखि जिल्ला र प्रदेशको अधिवेशन गरिनेछ। जसरी पनि साउनसम्म  क्रियाशील सदस्यता विवाद समाधान गर्दै वडादेखि जिल्ला र प्रदेशको स्थानीय अधिवेशन सक्ने तयारी छ।

साउनसम्ममा स्थानीय तल्लो तहका सबै अधिवेशन सकेपछि भदौमा १४ औँ महाधिवेशन गर्ने रणनीति कांग्रेसले बनाएको छ। पार्टी निर्णयानुसार कार्यतालिका बाँकी रहेका प्राविधिक काम सकेर अधिवेशन थालिनेछ। साउन मसान्तसम्म सबै अधिवेशन सकेर महाधिवेशन सफल पार्ने गरी गृहकार्य भइरहेको लेखकले बताएका छन्। 

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १४:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया