प्रदेश २ : कांग्रेसलाई तीन र माओवादीलाई २ मन्त्रालय, मन्त्रीको सपथ आजै

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय लिएका छन्। राउतले जसपा महन्थ ठाकुर समूहका मन्त्रीलाई बर्खास्त गरेपछि नेपाली कांग्रेस र माओवादीलाई सरकारमा तानेका हुन्। 

स्रोतका अनुसार मुख्यमन्त्री राउतले माओवादी र कांग्रेसलाई सत्तामा ल्याउने भएपछि मन्त्रालय टुक्राएर ११ वटा बनाएका छन्। जसअनुसार प्रदेश २ मा जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहले ५ वटा मन्त्रालय राखेको छ। 

त्यस्तै मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई तीनवटा र माओवादी केन्द्रलाई दुईवटा मन्त्रालय दिएका छन्। स्रोतका अनुसार राउतले भौतिक मन्त्रालयमा कांग्रेस दलका नेता रामसरोज यादवलाई जिम्मेवारी दिएका छन्। 

कांग्रेसकै सांसद ओमप्रकाश शर्मालाई खानेपानी तथा सिँचाइ मन्त्री बनाइँदै छ। कांग्रेसका अर्का सांसद वीरेन्द्र सिंहलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ। 

उता माओ‌वादी केन्द्रबाट दुईजना नेता मन्त्री बन्ने पक्का भएको छ। जस अनुसार माओवादी दलका नेता भरत साह र जगत यादव मन्त्री हुने भएका छन्। उनीहरुको मन्त्रालय टुंगो लागिसकेको छैन। 

अब प्रदेश २ मा मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालय भएका छन्। नयाँ मन्त्रीहरुको सपथ आजै साँझ साढे ७ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने भएको छ।



बर्खास्त 

राउतले आफ्नै पार्टीका चार मन्त्रीलाई सोमबार बर्खास्त गरेका थिए। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले नेता चयन गरेकै दिन राउतले जसपा महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए।



राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका थिए।

पार्टीभित्र चर्को विवादपछि ठाकुर पक्ष गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्र सरकारमा सहभागी भएको थियो । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित ठाकुर समूह संघीय सरकारमा गएपछि उपेन्द्र यादवको निर्देशनमा राउतले प्रदेश २ मा कदम चालेका थिए। 

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १७:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया