Wed, 16 Oct, 2019


दिमाग क्लिक भएपछि लेख्छु: सुबिन भट्टराई
फरकधार / असोज २, २०७५

लेखकहरु आफूमा लेख्ने मुड ल्याउन विभिन्न तरिका प्रयोग गर्छन् । कोही विभिन्न लतको प्रयोग गर्छु भनेर भन्छन् । तर, म पनि लेखनका लागि लतमा त परेको छु तर त्यो कुलत होइन । मेरो एउटै लत भनेको गीत सुन्नु हो ।



गीत सुनेपछि म मुडमा आउँछु अनि लेख्न थाल्छु । जस्तै, रोमान्टिक कुरा लेख्नु छ भने म रोमान्टिक गीत सुन्छु, ट्र्याजिक कथा लेख्नु छ भने ट्र्याजिक गीत सुन्छु । 

मेरो लेखनको लत नै गीत सुन्नु हो ।

तर, यो लतमात्र भएर पनि हुँदैन, मलाई फ्रि फिल हुनुपर्छ । जबसम्म म फ्रि फिल गर्दिनँ, तबसम्म लेख्न सक्दिनँ । म दिमागमा प्रेसर राखेर लेख्न सक्दिनँ, मलाई पहिले कथाले छुनुपर्छ । जब कथाले टक्क माइन्डमा क्लिक गर्छ, म लेख्न बस्छु । अनि लेखनमा नै डुब्छु; कहिले लेख्दालेख्दै भावुक हुन्छु, कहिले लेख्दालेख्दै मुर्छा परेर हाँस्छु; कहिले लेख्दालेख्दै रुन्छु !

कथाको परिवेश र मेरा पात्रहरुमा म डुबेपछि सांसारिक दुनियाँको अस्तित्व बिर्सन्छु । अर्को शब्दमा भन्नुपर्दा मलाई लेख्दालेख्दै अग्र्याजम प्राप्त हुन्छ, उत्कर्षमा पुग्छु म । कथाको प्लटअनुसार त्यो उत्कर्षबाट अत्यन्त डाउन हुन पनि हुन्छु । यसको अर्थ के भने म लेखनमा पूर्णतया डुब्छु, अरु सब कुराहरु बिर्सेर ।

फेरि के पनि हो भने अब मेरालागि पुस्तक लेख्नुको विकल्प छैन । फुलटाइम राइटर भएपछि जसरी पनि पुस्तक लेख्नै पर्छ, यसले कहिलेकांही प्रेसर चाहिँ फिल हुन्छ ।

जति नै प्रेसर भए पनि मैले लेख्नुपहिले आफूलाई मानसिक रुपमा तयार गरेको छु कि छैन भन्ने कुरा महत्वपूर्ण हो । अहिले त मैले प्रत्येक दुई वर्षमा एउटा पुस्तक लेख्ने मेन्टालिटी बनाइसकेको छु । त्यसैले पुस्तक लन्च भएको दुईचार महिना चाहिँ फ्रि फिल हुन्छ, अनि फेरि प्रेसर ।

एउटा समय थियो, म पुस्तक औधी पढ्थेँ । तर, केही महिनायता पुस्तक पढ्ने बानी कम भएको छ । 

मलाई लेख्नका लागि बाहिरी माहोल चाहिन्छ भन्ने छैन । सामान्यतया घरमै लेखिरहेको हुन्छु म, गेस्टहाउस गएर लेख्ने भन्ने छैन । यसको अर्थ के होइन भने मैले मेरा सबै पुस्तक र पुस्तकका सबै कथा घरमै लेखेको हुँ । कहिलेकांही त बाहिर गएर पनि लेखेको छु । जस्तो, मनसुन लेख्दा मैले धेरै समय घरमा भन्दा बाहिर बिताएँ ।

म यसअघि पुस्तक लेख्दा मेरो अडियन्स ग्रुपको पूर्वानुमान गर्थेँ, तर यसपटक सुफी लेख्दा मैले त्यस्तो गरिनँ । यो उपन्यास त मैले सबैका लागि लेखेको हुँ । अनि अर्को एउटा कुरा पनि जोडिहालौँ, यो उपन्यासमा पारिवारिक सम्बन्धलाई बढी महत्व दिएको छु । 

यसअघिका मेरा पुस्तकले अरुलाई माया गर्न सिकाउँथ्याे, सुफीले चाहिँ अाफूलाई माया गर्न सिकाउँछ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्