नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम भने १६ अर्ब रुपैयाँ

कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २९४४.७८ बिन्दुमा बन्द भएको छ । यो दिन नेप्से परिसूचक १.८० अंकले घटेको हो । २९६८.०९ बिन्दुदेखि खुला भएको बजार २९७०.५५ बिन्दुसम्म पुगेको थियो । यो दिन २९२६ बिन्दुसम्म झरेर बजार उकालो लागेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार नेप्सेमा साढे १३ अंकको करेक्सन भएको थियो । सो दिन नेप्सेले ३००० बिन्दु पार गरेपछि बजारमा बिक्री चाप बढेपछि करेक्सन भएको थियो ।

नेप्सेले यस दिन अघिल्लो कारोबार दिन भएको करेक्सनलाई नै निरन्तरता दिएको हो । कारोबारको सुरुवाती चरणदेखि अल्पकालीन लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा नेप्सेमा दबाबमा रहेको थियो । तर, सबै किसिमले बजार घट्ने छाँटकाँट नदेखिए पनि नयाँ लगानीकर्ताको प्रवेशसँगै बजार झिनो अंकले घटेर बन्द भएको छ । 

नेप्से परिसूचक ओरालो लागे पनि यस दिन सेन्सेटिभ इन्डेक्स भने साढे २ अंक बढेको छ । यस दिन फ्लोट इन्डेक्स ०.३७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४ अंक बढेको छ ।

यस दिन नेप्से ओरालो लागे पनि कारोबार रकम भने १६ अर्बभन्दा बढिरहेको छ । बुधबार २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर कुल १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०४ रुपैयाँ खरिद-बिक्री भएको बजारमा बिहीबार भने २२० कम्पनीको ३ करोड ६ लाख ६ हजार कित्ता सेयर  कुल १६ अर्ब १० करोड ४ लाख १२ हजार रुपैयाँमा खरिद-बिक्री भएको छ ।

यस दिन १३ कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अधिकांश जलविद्युत कम्पनीहरू रहेका छन् । यस दिन १२ जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन पाँचथर पावर कम्पनी, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी लगायतका कम्पनीहरू सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।



जलविद्युत कम्पनीहरूको सेयरमूल्य बढेसँगै यस दिन जलविद्युत उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ । यस दिन उकालो लागेका ६ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक यस दिन २.६३ प्रतिशत र वित्त उपसमूहको २.५७ प्रतिशत बढेको छ । यस दिन जीवन बिमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा घटेको छ ।



  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १६:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया