सरकारी निवास नछाडेका बादलले पत्नी नैनकलालाई बनाए सञ्चारमन्त्री

सांसद पद गुमेपछि जेठ ६ मा सर्वोच्च अदालतबाट काम गर्न रोक लगाइएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पनि सरकारी निवास छाडेका थिएनन्। मन्त्री पद गएलगत्तै सरकारी निवास छाड्ने परम्परा विपरीत सरकारी निवासमा बसिरहेका बादलले अन्तत: पत्नी नैनकला थापालाई मन्त्री बनाउन सफल भएका छन्। 

जेठ २१ मा जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपिएपछि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग तीव्र असन्तुष्टि जनाएका बादलले आफ्नो समूहलाई तीन मन्त्री दिन भनेका थिए।

तर प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादपछि दुई मन्त्रीमा कुरा मिलेको थियो। दुई मन्त्रीमध्ये बादल पत्नी नैनकला पनि परेकी छन्। आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिको मूलधारमा नरहेकी नैनकलालाई सञ्चारमन्त्रीमा नियुक्त गरेकी छन्। 

चुनावी सरकारको नेतृत्व गरिरहेका ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा नैनकलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएका हुन्। यो मन्त्रालयका लागि पछिल्लो समय संखुवासभाका राजेन्द्र गौतम, खोटाङका विशाल भट्टराई र भक्तपुरका महेश बस्नेत दाबेदार थिए। 

तत्कालीन नेकपा कायम रहेको अवस्थामा पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीको पक्षमा लागेका बादलले तीन वर्षसम्म गृहमन्त्रीका रुपमा काम गरे। तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हटाउन खोज्दा पनि ओलीले जोगाएका थिए। ओलीको त्यही गुण सम्झिएर जनयुद्धका साथी प्रचण्डलाई छाडेर बादल फागुन २३ पछि पनि एमालेतिरै लागे। 

तर एमालेतिर लागेपछि माओवादीले उनको राष्ट्रियसभा सदस्य पद खोसिदियो। त्यसपछि जेठ ६ मा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा बादल पराजित भए। त्यही दिन सर्वोच्चले मन्त्रीमा काम गर्न नदिन आदेश दिएपछि बिलखबन्दमा परेका उनी मन्त्री क्वार्टरमै बसेर पत्नी नैनकलालाई मन्त्री बनाउन सफल भएका छन्। 



२०५२ सालमै भूमिगत भएकी उनी जनयुद्धका बेला सक्रिय राजनीतिमा लागेकी सञ्चारमन्त्री थापा १५ वर्षदेखि मौन थिइन्। जनयुद्धका समयमा उनी महिला संघकी अध्यक्ष भएको बताइन्छ। तर माओवादीको कुनै कमिटीमा उनले काम गरेको रेकर्ड छैन। माओवादीले उनलाई केन्द्रीय सल्लाहकार समिति सदस्य बनाएको थियो। 

तर माओवादी शान्ति प्रक्रियामा फर्किएपछि उनी सांसद पदमा निर्वाचित नै नभइ एकै चोटी सञ्चारमन्त्री हुन सफल भएकी छन्।



ओलीले आलोपालो मन्त्रीमा बादल र नैनकलालाई पनि निरन्तरता दिए। यसअघि प्रचण्ड-माधव नेपाल समूह छाडेर आएका उषाकला राई र शेरबहादुर तामाङ मन्त्री भइसकेका छन्। 

उषाकला प्रदेश १ की सामाजिक विकास मन्त्री छिन् भने शेरबहादुर संघीय सरकारका स्वास्थ्य मन्त्री भएका छन्। अब पालो बादलपछि नैनकलाको पनि आएको छ। माओवादी जनयुद्धले विश्राम लिएपछि नैनकला २०६४ सालमा महिला आयोगकी अध्यक्ष भएकी थिइन्। अहिले आएर ओलीले बादललाई विश्राममा पठाएर उनकी पत्नी नैनकलालाई मन्त्री उपहार दिएका छन्। 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १६:१९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया