मन्त्रिमण्डलमा नपरेपछि महेश बस्नेतले भने : मेरा विरोधी साथीहरुलाई धेरै धन्यवाद छ
'पटक–पटक अग्निपरीक्षामा होमिन तयार छु'

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पुनर्गठनका बेला हरेकपटक नाम आउने गरेका महेश बस्नेत यसपटक पनि मन्त्रिमण्डलमा परेनन् । सरकार गठनमा आफ्नो नाम नपरेपछि बस्नेतले एक वक्तव्य जारी गर्दै आफूले पद प्राप्तिलाई कहिल्यै ठूलो विषय नमानेको बताएका छन् ।  

वक्तव्यमा उनले आफूले सधैँ पार्टी नीति, नेतृत्व र निर्देशन सदैव पालना गरेर अघि बढेको, पार्टीभित्र बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको दाबी गरेका छन् । 

मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा उनले भनेका छन्, ‘पटक–पटकको मन्त्रिमण्डलको पुनर्गठनमा मेरो नाम व्यापक चर्चा हुने गर्दछ। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा व्यापक लाग्नुहुन्छ। हो, मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ठान्छन ।’ 

उनले आफ्ना विरोधीलाई धन्यवाद दिँदै उनीहरुको विरोधकै कारण आफूले हरेकपल सचेत भएर कदम चाल्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘त्यो नै मैले सिकेको सिकाइ हो र उपलब्धि पनि !
 
बस्नेतले आफ्नो नाम जोडेर गुट फेर्दै छ भन्ने समाचारको खण्डन गरेका छन् । ‘त्यस्तो भ्रममा नपरौँ, म जहाँ छु त्यहीँ छु र म जे छु त्यही छु,’ उनले भने, ‘अझै जोस जाँगर र ऊर्जाका साथ लाग्नेछु।’ 

आफ्नो राजनीतिक जीवनमा विकास गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टि हुने उनले बताएका छन् । नयाँ अभ्यासबारे उनले केही खुलाएका छैनन् ।  

उनले पटक–पटक अग्निपरीक्षामा होमिन तयार रहेको बताएका छन् । 
 





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १७:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया